सिन्धुली । जिल्ला स्तरीय अनुगमन टोलीले सुनकोशी गाउँपालिकाका विभिन्न बजार क्षेत्रका होटलहरुको अनुगमन गरेको छ । मंगलबार गरिएको अनुगमनका क्रममा टोलीले विपी राजमार्ग क्षेत्रमा सञ्चालित चार वटा होटललाई कारवाहि गरेको छ ।
दर्ता नभई सञ्चालन भएका, सरसफाईको मापदण्ड पुरा नगरेका, अखाद्य पदार्थ विक्री वितरण गरेका चारवटा होटललाई २५ हजार जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले बताए । उनका अनुसार कारवाहिमा पर्ने होटलहरुमा प्याराडाईज होटल खाल्टे, सुदिप होटल खाल्टे, रेड चिल्ली होटल नेपालथोक र वेलकम भोजनालय चैनपुर रहेका छन ।
प्याराडाईज र सुदिप होटललाई दर्ता विना सञ्चालन भएको कसुरमा कारवाहि गरिएको हो भने रेड चिल्ली र वेलकम भोजनालयलाई सरसफाईको मापदण्ड पुरा नगरेकोमा कारवाहि गरिएको ढकालले जानकारी दिए ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, प्रहरी, स्थानीय तहका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली लगाएतको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकाका नेपालथोक, दुम्जा बजार, खाल्टे, रातमाटा, रामटार, चैनपुर लगाएतका स्थानका २० वटा होटलमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका अधिकांश होटलमा सरसफाई नभएको, मुल्यसूचि नटाँसिएको, फोहोर भान्सामा राखी खाना खाजा खुवाउने गरेको पाईएको ढकालले बताए ।
राजमार्गमा सञ्चालित १३ वटा होटलहरुलाई सरसफाईको मापदण्ड पुरा गर्न, पटक पटक पकाईउको खान अयोग्य तेलको प्रयोग नगर्न, मुल्य सूचि टाँस गर्न, दर्ता गरेर सञ्चालन गर्न, म्याद सकिएका सामान विक्री वितरण नगर्न र विल विना कारोबार नगर्न सुझाव सहित सुधारको समय सिमा तोकेर निर्देशन समेत दिईएको ढकालले बताए ।
अनुगमन टोलीले सुनकोशी गाउँपालिकाका नेपालथोक, दुम्जा बजार, खाल्टे, रातमाट, रामटार, चैनपुर लगाएतका बजार क्षेत्रका होटलहरुको अनुगमन गरेको थियो । अनुगमन गरिएका सबै होटलमा म्याद गुज्रेका सामानहरु फेला परेका छन ।
२० वटै होटलबाट म्याद गुज्रेका चिसो पेय पदार्थ, वियरहरु, विस्कुट, पाउरोटी र चाउमिन लगाएतका सामग्रीहरु बरामद गरिएको अनुगमन टिमका संयोजक समेत रहेका ढकालले बताए । उनका अनुसार अनुगमन टोलीले बाईस हजार पन्ध्र रुपैंया बराबरका म्याद गुज्रेका सामान बरामद गरि नष्ट गरिएको छ । अनुगमन टोलीले होटलहरुले विल विना कारोबार गरेको पाईएको समेत जनाएको छ ।





















