सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले पत्रकार आस र त्रासबाट मुक्त हुन आवश्यक रहेको बताएका छन । शनिबार प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै दाहालले पत्रकार सरकारसँग नभई प्रविधिसँग जोडिएर आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
उनले पत्रकार आफै आत्मनिर्भर हुन आवश्यक रहेको बताएका छन । दाहालले सरकारी निकायको विज्ञापनको आसबाट बाहिर बसेर पत्रकारीता गर्न आग्रह पत्रकारलाई आग्रह गरेका हुन । उनले पत्रकारको जीविकोपार्जन विज्ञापन र स्थानीय सरकार हुनु नहुने बताए ।
प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बोल्दै दाहालले सुशासनसँग जोडिएर पत्रकारीता गर्न आग्रह गरे । उनले गलतको विरुद्धमा दृढता पुर्वक लड्न र आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै आत्मनिर्भर र अब्बल बन्न पनि पत्रकारलाई आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले पत्रकारीतामा राजनीतिक हस्तक्षेप हुनु नहुने बताईन । उनले पत्रकारीतालाई गलत प्रयोग गरेर लोकतन्त्रको संरक्षण नहुने बताईन । पत्रकारितामा पाइला टेकेका नयाँ पुस्ताहरुको क्षमता अभिवृद्धि गराउने र स्वतन्त्र पूर्वक पत्रकारिता गर्नलाई सिकाउनतर्फ पत्रकार आवद्ध संस्थाहरुले ध्यान दिनुपर्नेमा जोड दिईन ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिब धुव्र अधिकारीले पत्रकारहरुले निवास्र्थपूर्वक सहि र गलत छुट्याएर लेख्छन् भन्ने आधार पुष्टि गर्नुपर्ने बेला भएको बताए । उनले संगठन ठूलो बनाउनेतर्फ हैन लेख्ने पत्रकार उत्पादन गर्ने तर्फ संगठन लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव नविनबाबु अधिकारी, प्रेस युनियन सिन्धुलीका सभापति बरुण लामिछाने, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष बिनय दाहाल, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष रोहित गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरे ।






















