सिन्धुली । बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठले विज्ञान र प्रविधिको विकासले हरेक नागरिकलाई पत्रकार बनाएको बताएका छन । उनले हरेक नागरिक पत्रकार भएको समयमा पत्रकारीता गर्नु चुनौतीपूर्ण रहेको बताएका छन ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सिन्धुलीको सातौं साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले पत्रकारले पत्रकारीताको ज्ञान, सिप, शैलीलाई समय अनुकुल अपडेट गर्न समेत आवश्यक रहेको बताए । पत्रकारले सत्य र निष्पक्ष रुपमा पत्रकारीता गर्न सुझाव दिंदै राजनीतिका नाममा कसैलाई देवत्करण र कसैलाई राक्षसीकरण नगर्न समेत पत्रकारलाई आग्रह गरेका छन ।
उनले पत्रकारहरुले संघिय लोकतान्त्रिक गणतन्त्रका पहरेदार भएकाले लोकतन्त्रलाई संस्थागत र सुदृढ बनाउन पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । राजनीतिक र वैचारिक आस्था राख्ने संविधानको अधिकार भए पनि पत्रकारीता गर्ने की राजनीति गर्ने भन्ने विषयमा ध्यान दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले पत्रकारले समाचार लेखेका कारण पत्रकारले समस्यामा भोग्न नपर्ने वातावरण बनाउन नेपाल पत्रकार महासंघ सधै क्रियाशिल रहेको बताईन । पाण्डेले पत्रकारीताको विकासका लागि क्षमता अभिवृद्धि र पत्रकारको सुरक्षाको सवालमा पत्रकार महासंघ सधै साथमा रहने बताईन । उनले पत्रकारका साझा मुद्दामा सबै पत्रकारीतासँग सम्बन्धित संघसंस्थाहरु पेशागत हित र पत्रकारका साझा मुद्दामा एकतावद्ध भएर अगाडि बढ्न समेत आग्रह गरिन । पत्रकारले आफुलाई अब्बल र प्रतिस्पर्धामा जान सक्ने गरी विकास गर्न पनि आग्रह गरेकी छिन ।
फोनिजका जिल्ला अध्यक्ष रोहित कुमार गुरुङको अध्यक्षता एवम् वागमति प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सिन्धुलीका अध्यक्ष तुला गुरुङ, फोनिजका बागमति प्रदेश सदस्य नविन श्रेष्ठ, प्रेस युनियन सिन्धुलीका सभापति बरुण लामिछाने, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहाल, प्रेस सेन्टरका अध्यक्ष बुद्ध नेपाली, युवा जनजाती महासंघका किरण श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा फोनिजका सहसचिव कल्पना भुजेलले स्वागत गरेकी थिईन । कार्यक्रमको सहजीकरण सचिव कमल सरला सुनुवारले गरेकी थिईन ।






















