सिन्धुली । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले अहिलेसम्म कुनै पनि राम्रा कामहरु गर्न नसकेको बताएका छन । प्रेस सेन्टर नेपाल सिन्धुलीले बुधबार मरिणमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केपी शर्मा ओलीको नेतृत्वको सरकार उधो गतिमा लागेको आरोप लगाए ।
पूर्व सभामुख समेत रहेका सापकोटाले देशका दुई ठूला दलहरु मिलेर बनेको सरकार अधिनायकतातर्फ लाग्न सक्नेतर्फ नागरिकहरु सचेत हुनु पर्ने समेत बताए ।
नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीको दोस्रो अधिवेशनमा उद्घाटन गर्न आएका सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली आज भोली आफ्नै कार्यकर्तासँग डराउन थालेको बताए ।
सरकारको उपस्थिति सेवा प्रवाह, सुशासन, भ्रष्टाचार नियन्त्रणमा नदेखिएको पनि उनको आरोप छ । सरकारलाई अधोगतितिर जाँदै छ भन्दै गर्दा सापकोटाले पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार लामो समय जाने संकेत गरे ।




















