सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन । प्रेस चौतारी नेपालले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र विषय नभएर सबैको साझा विषय भएकाले साझा सहमतिका आधारमा संविधान संशोधन गरिने बताए ।
नेकपा एमालेको दुधौलीमा आजदेखि हुने जिल्ला कमिटीको बैठकलाई संबोधन गर्न सिन्धुली आएका गौतम अहिलेको निर्वाचन प्रणालीले कुनै पनि स्पष्ट बहुमत ल्याउन नसक्ने बताउँदै यो निर्वाचन प्रणालीले दिने परिणामले स्थायी सरकार बन्न नसक्ने दावी गरे । संविधान संशोधनमा भएको ढिलाईप्रति जनताको चासो रहेको तर राष्ट्रिय सभामा रहेको गणितले तत्काल संविधान संशोधन गर्न नसकिने अवस्था रहेकाले उपयुक्त समय कुर्नु परेको बताए । सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन अगाडि बढ्ने पनि उनले बताएका छन ।
उनले एमाले र कांग्रेस मिलेर २०८४ सम्म सरकारलाई स्थायीत्व दिएको बताउँदै देशको अर्थतन्त्र पनि लयमा फर्किएको बताए । ‘समयमा अर्थतन्त्रलाई लयमा फर्काउन नसकेमा ठूलो विपद हुनसक्छ भन्ने थियो त्यसैले देशका दुई ठूला राजनीतिक दलहरु एकजुट भयौं । सरकार बने लगत्तै अर्थतन्त्रमा सुधार भएको छ’, उनले भने ।
नेपालको बजेट राजस्व केन्द्रीत रहेको र चार पाँच महिनामा अपेक्षित राजस्व संकलन नभए पनि राजस्व संकलनमा सुधार आएको उनले बताएका छन । अझै पनि जनताले अपेक्षा गरेको विकास गर्न समस्या रहेको उनले जानकारी दिए । अर्थतन्त्रमा सुधार गर्न कोशिस भए पनि मुलुकको अर्थतन्त्र अझै संकटकै अवस्थामा रहेको आर्थिक तथ्यांकले देखाएको उनले बताए । सरकारले अपेक्षित परिणाम दिन नसक्नु आर्थिक संकट नै भएको उनको भनाई छ ।
अहिले सडकमा सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरण हुनुप¥यो भन्ने रहेको बताउँदै यसतर्फ पार्टीको गम्भिर ध्यान गएको र बहस भईरहेको उनले जानकारी दिए ।
उनले रवी लामिछानेको मुद्दामा नागरिक र केहि मिडियाको अन्याय र न्यायको बहसले मुलुकमा अस्थिरता र अराजकता निम्ल्याउने हुँदा अनुसन्धानमा रहेका मुद्दालाई अनुसन्धान गर्न दिन समेत नागरिकलाई आग्रह गरेका छन । अनुसन्धान र अदालतलाई प्रभाव पार्ने गतिविधिमा नलाग्न समेत उनले सबैलाई अनुरोध गरेका छन ।





















