सिन्धुली । हिजोदेखि कुशेश्वर महादेव मन्दिर सुनकोशी १ दुम्जामा फसेका गुरुकुलका ३३ जनाको उद्धारको लागि मौसम खरावीका कारण कठिनाई भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरि गृह मन्त्रालयलाई अनुरोध गरेको भए पनि मौसममा सुधार नआएका कारण उद्धारमा कठिनाई भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
गृह मन्त्रालयले हेलिकप्टर उडानका लागि तयारी अवस्थामा राखेको भए पनि उडान गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँलले बताए ।
उनका अनुसार रोशीको बाढी कम भएको र कोशीको वहाव बढेको भए पनि अहिलेसम्म मन्दिर सुरक्षित रहेको र मन्दिरभित्र रहेको गुरुकुलमा फसेका ३३ जना सकुशल रहेका छन ।
मौसम खुल्नासाथ हेलिकप्टरबाट उनीहरुको उद्धार गरिने तयारी भईरहेको पनि उनले बताएका छन । बाढीका कारण गुरुकुलका २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी शुक्रबार दिउँसोदेखि मन्दिर परिसरमा नै फसेर बसेका छन ।
उनीहरुको रोशी र कोशी पार गरेर उद्धार गर्न नसकिएपछि हेलिकप्टरबाट उद्धार गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको थियो ।




















