सिन्धुली । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामती सेवा ऐनमा अब कुनै विवाद नरहेको बताएका छन । उनले सरकारले नचाहेर मात्रै ऐन आउन नसकेको बताए ।
उनले संसदमा विचाराधिन रहेको संघिय निजामती सेवा ऐनमा रहेका विवादहरु सुल्झि सकेको बताउँदै कोइरालाले सबै खाले कर्मचारीको भावनालाई समेट्ने गरि कर्मचारीका ट्रेड युनियनहरुले सुझाव दिईसकेकाले प्राप्त सुझाव अनुसार सरकारले ऐन जारी गरि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीको १७ वार्षिक साधारणसभालाई शनिबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै कोईरालाले यस्तो बताएका हुन । उनले ऐनमा श्रेणीगत व्यवस्था हटाएर तहगत व्यवस्था बनाउन कर्मचारी संगठनले सुझाव दिएको समेत बताए ।
कार्यक्रममा बोल्दै कोईरालाले बजारका अन्य सहकारी र राष्ट्रसेवक सहकारीको स्थापनाको उद्देश्य फरक रहेको बताउँदै कर्मचारीहरु आर्थिकसँगै सामाजिक काममा समेत जोडिन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै संगठनका उपाध्यक्ष एवम केन्द्रीय सहकारी विभागका प्रमुख रेवन्त गौतमले देशभरका राष्ट्रसेवक सहकारीको डिजिटल प्लेटफर्म बनाउने बताएका छन ।
सहकारीका अध्यक्ष वद्रीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार्षिक प्रगति तथा कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष तिलक बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य पुरुषोत्तम दाहाल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष पदम मगर, पेशागत महासंघका जिल्ला अध्यक्ष वविन्द्रलाल माझी, स्थानीय तह कर्मचारी संगठनका अध्यक्ष मुकेश तामाङ, डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धर, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख कृष्ण पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीको भवन निर्माणका लागि नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले २ लाख रुपैंया सहयोग समेत गरेको छ । सहकारीको साधारणसभाको अवसरमा दुई लाख बराबरको चेक केन्द्रीय अध्यक्ष कोईरालाले भवन निर्माण समितिका संयोजक तिलक बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन । सहकारीको भवन कमलामाई नगरपालिका वडा नं. ५ मधुटारमा निर्माणाधिन रहेको छ ।





















