सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलको प्रस्तावमा नेकपाका केन्द्रीय सदस्य एवम् पत्रकार महेश्वर दाहालले सिन्धुली क्षेत्र नं. २ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाहालले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।
नेकपाका सिन्धुलीका संयोजक पानीराज बम्जनको समर्थनमा महेश्वरले उमेदवारी दिएका हुन् । नेकपाले जिल्लाबाट सिफारिस नै नगरेका उमेदवार लेखनाथ दाहाल (राजन)लाई उमेदवार बनाएपछि जिल्लाका नेताहरुले विद्रोह गरेका हुन् ।
उमेदवार दाहालको प्रस्तावक बसेका नेकपाका नेता गजुरेलले पार्टी भित्र विधिलाई स्थापित गर्नका लागि उमेदवारी दिएको बताएका छन् । पार्टीको विधि मिचिएपछि महेश्वरलाई उमेदवार बनाएको उनले बताए ।
लेखनाथ दाहाल (राजन) लाई नेकपाले क्षेत्र नं. १ बाट उमेदवार सिफारिस गरेको थियो । पार्टी केन्द्रले क्षेत्र नं. २ बाट उमेदवारी दिएपछि नेकपा सिन्धुलीमा विद्रोह भएको हो । पार्टीको आधिकारिक उमेदवार राजनको उमेदवारी दर्तामा नेकपाका नेताहरु सहभागि भएका छैनन् ।
नेकपाका केन्द्रीय नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज बसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जन लगाएतका नेताहरुले विद्रोह गरेका छन् ।





















