सिन्धुली । पुस ६ गते शुशिला बम्जनलाई पेट्रोल छर्केर आगो लगाएको घर क्षेत्र विहिबार दिनभर तनाव ग्रस्त बनेको छ । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटको उक्त घर क्षेत्र दिनभर तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कफ्र्यु लगाएको छ । विहिबार राती साढे ८ बजेदेखि शुक्रबार विहान ६ बजेसम्मका लागि कफ्यु आदेश जारी भएको हो । साँझसम्म स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्याँस समेत प्रहार गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कफ्र्यु आदेश जारी गरेकी हुन् । पूर्वमा ग्वाङखोला, पश्चिममा मदनभण्डारी राजमार्ग, उत्तरमा कुमँल फाँट र दक्षिणमा धुराबजार चोकसम्म लागु हुने गरि कफ्र्यु आदेश जारी भएको हो ।
कफ्र्युको समयमा निशेधित क्षेत्रमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारी साधनको आवातजावत, कुनै पनि किसिमको भेला जुलुस र भेलाजन्य कार्यहरु नगर्न र पाँचजना भन्दा बढी मानिस भेला हुन नपाईने भएको छ । भिड नियन्त्रणका लागि केहि सेल अश्रुग्याँस समेत प्रहार गरिएको छ ।
पुस ६ गते शुशिला घिसिङ बम्जनको हत्यापछि शिल गरिएको घर प्रहरी कै मिलेमतोमा खोलेर पीडक पक्षलाई सामान निकाल्न दिएको भन्दै सामान निकाल्न आएका पाँचजना आफन्तलाई हत्या भएको घरमा घेरेर पीडित पक्ष र स्थानीयले दिनभर आन्दोलन गरेका थिए । घरमा सामान निकाल्न आएका एकजना छिमेकीको घरमा हामफालेर भाग्ने क्रममा घाईते भएको समेत प्रहरीले जनाएको छ ।





















