सिन्धुली । आइतबार परिवारका सदस्यहरुले पेट्रोल छर्केर आगो लगाएर हत्या गरिएकी कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटकी ३२ वर्षिय शुशिला घिसिङ बम्जनको न्याय माग्दै स्थानीय, आफन्त तथा महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मंगलबार दिनभर धर्ना दिएका छन् । उनीहरुले शुशिलालाई न्याय दिन र हत्यामा संलग्नलाई कडा कारवाहिको माग गर्दै दिनभर धर्ना दिए । नाराजुलुस गरे ।
शुशिलाका हत्यारालाई कारवाहि गर्न र राजनीतिक दवाव प्रभावमा नपरि अनुसन्धान गर्न माग गर्दै उनीहरुले धर्ना, जुलुस र ध्यानाकर्षण मार्फत दवाव दिएका छन् । पीडित पक्षले केहि समय विपी राजमार्ग बन्द समेत गराएका छन् । मृतकका आफन्त, स्थानीयहरु तथा जनप्रतिनिधि महिलाहरु, महिला अधिकारकर्मीहरु, राजनीतिक दलका महिला नेताहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसँग समेत सुशिलाको न्यायका लागि ध्यानाकर्षण गर्नुका साथै छलफल गरेका छन् ।
शुशिलाको न्याय र दोषी उपर कडा कारवाहिको माग गर्दै जिल्लाका तीन राजनीतिक दलहरु निकट महिला संगठनहरुले मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाल महिला संघ, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल महिला संघका अध्यक्ष गंगा दाहाल, अखिल नेपाल महिला संघका उपाध्यक्ष तुलसा कार्की देवकोटा, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का उपाध्यक्ष बविता गौतमले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए ।
उनीहरुले कुनै दवाव र प्रभाव विना घटनाको सत्यतथ्य अनुसन्धान गरि घटनामा संलग्न सबैजनालाई कारवाहिको दायरामा ल्याउन माग गरेका छन् । ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बोदार्थ समेत दिईएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि पीडित पक्ष शुशिलाको शव पोष्टमार्टमका लागि तयार भएको छ । मंगलबार उनको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम गरे पनि परिवारले श्रीमान कोरियाबाट नआई पुगेकाले शव भने बुझेका छैनन् । शुशिलालाई सासु माँयारानी बम्जन, नन्द मिना बम्जन र ससुरा दुर्गामान बम्जनले हत्या गरेको खुलेको छ । श्रीमान सुर्य बहादुर बम्जनको समेत हत्या गराउन निर्देशन रहेको हुन सक्ने माइती पक्षले शंका गरेका छन् ।
शुशिलाको हत्यामा संलग्न सासु मायाँरानी र नन्द मिनालाई आईतबार नै पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनीहरु दुवै जनालाई पुस ७ गते नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । यस्तै माईती पक्षले दिएको किटानी जाहेरी समेत ७ गते नै दर्ता भएको छ । घटनास्थलबाट पेट्रोल हालेका २ वटा बोत्तल (पेट्रोल समेत भएको), लाईटर र बाँसको भाटामा सल बेरि राखेको अवस्थामा रहेको राँको (पुल्ठो) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।





















