सिन्धुली । आइतबार दिउँसो करीब साढे ४ बजेतिर कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटकी ३२ वर्षिय शुशिला घिसिङ बम्जनले आफ्नै घरमा दनदनी आगोमा जलेर मृत्यु वरण गर्नुप¥यो । आफ्नै घरका परिवारका सदस्यबाटै उनको आगो लगाएर हत्या भयो । उनले आगोको रापमा जीउँदै जल्नुपर्यो र मर्नुपर्यो।
यो विभत्स हत्या शुशिलाका सासु ६० वर्षिय मायाँरानी बम्जन, नन्द ३५ मिना बम्जन र ससुरा ६५ वर्षिय दुर्गामान बम्जनले गरेको खुलेको छ । उनीहरुले गेटमा चावी लगाएर कोठाभित्र पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको पाईएको छ ।
यहि दावी बमोजिम सोमबार शुशिलाका बुवा प्रेम बहादुर घिसिङले तीनै जना विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किटानी जाहेरीमा उनलाई पटक पटक घरेलु हिंसा गरेको, छोरीलाई यातना दिंदै आएको र छोरीको हत्या गरेको उल्लेख गरिएको छ ।
शुशिलाको हत्यामा संलग्न भएकी नन्द मिना र सासु मायाँरानी बम्जनलाई प्रहरीले आइतबार राती नै पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई सिन्धुली जिल्ला अदालतबाट सोमबार ५ दिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुहारीलाई आगो लगाउँदा आगोको लप्काले भेटेर घाईते भएका दुर्गामान बम्जनको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि किर्तिपुर वर्न अस्पतालमा लगिएको छ । उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ ।
शुशिलाको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । सोमबार दिनभर शुशिलाका आफन्त र स्थानीयले शुशिलाको न्याय र घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कारवाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरी दवाव दिएका छन् ।
स्थानीय आउँदा गेटमा ताल्चा थियो
शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि शुशिलाले चिच्चाएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरु घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाईएको, नन्द मिना घरको गल्लीमा उभिईरहेको र आगो दनदनी बलिरहेको थियो ।
स्थानीयले सासु मायाँरानीसँग साँचो मागी गेटको ताल्चा खोलेर घटना भएको कोठामा पुग्दा शुशिलाको मृत्यु भईसकेको थियो । माँयारानीले छिमेकीलाई घरको माथिल्लो तलाबाट साँचो झारिदिएकी थिईन् । गेटमा ताल्चा लगाएर आगो लगाएर शुशिलाको हत्या गरिएको र छिमेकीले आगो निभाएको पीडितकी आफन्त सरिता स्याङतानले बताएकी छिन् ।
शुशिलालाई ६, ७ वर्षदेखि नै नन्द मिना बम्जन, सासु मायारानी बम्जन र ससुरा दुर्गा बम्जनले निरन्तर मानसिक, शारीरिक यातना दिँदै आएको, खान लाउन समेत उचित तरिकाले नदिएको, मोवाईल प्रयोग गर्न समेत नदिएको आफन्तले जनाएका छन् ।
करिब दुई महिनादेखि नन्द मिनाले शुशिलालाई मार्ने धम्कि दिदैं आएको खुलेको छ । मृतक शुशिलाले आफ्ना बहिनी सन्धी, बुवा र भाउजु निर्मलालाई उक्त कुरा जानकारी गराउँदै आएकी थिईन् ।
घटनाको एक घण्टा अगाडि बहिनी सन्धीलाई आफुलाई नन्दले आजै मार्ने भनेको समेत सुनाएकी थिईन । उनलाई घर छोडेर जान दवाव दिँदै आएका थिए । घर नछोडे मार्ने धम्कि दिईरहेको खुलासा भएको छ । आगोले शुशिलाको पुरै शरीर जलेको थियो ।
पछिल्लो दुई महिनादेखि नन्दले शुशिलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्कि दिएको शुशिलाले आफन्त र माईतीलाई सुनाउँदै आएको स्याङतानले बताईन ।
छिमेकी पदम बहादुर अस्थानीले आफुले घटनास्थलमा आएर आगो निभाएको बताएका थिए । उनले आगो निभाएपछि मात्र शुशिलाको शव लडेको अवस्थामा देखेको बताएका छन् ।
घटना भएपछि घटना स्थलमा आएका मृतकका काका सुकबहादुर घिसिङ, भाउजु निर्मला स्याङतानले उनको हत्या नै भएको दावी गरेका छन् । पटक पटक शुशिलालाई यातना दिने गरेको र माईती पक्षले नै उनलाई सम्झाई बुझाई पटक पटक घरमा पठाउने गरेको उनीहरुले बताए ।
स्कुलबाट छोराछोरी आएर खाजा खाएपछि बच्चाहरु ट्युसन पु¥याएर आएपछि घटना भएको पाईएको छ । घरको भान्साभरी सेलरोटी छरिएको अवस्थामा भेटिएको छ । सेल पकाउने भाँडामा तेल बाँकी रहेको भेटिएको छ । उनलाई भान्सा समेत रहेको नन्दको सुत्ने कोठामा पेट्रोल छर्केर आगो लगाएको छ । आगो लाग्दा कोठाका बेड लगाएतका सामानहरु जलेका छन् । प्रहरीले घटनास्थलबाट पेट्रोल सहितको बोत्तल, डस्विनमा फालेको लाईटर लगाएतका सामान समेत बरामद गरेको छ ।
शुशिलाका ७ वर्षका तिम्ल्याहा छोराछोरी छन् । दुई छोरा, एक छोरीकी आमा शुशिला लामो समयदेखि घरेलु हिंसाबाट पीडित रहेको उनका माईती परिवारले बताएका छन् । शुशिलाका श्रीमान सूर्य बम्जन दुई वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा छन् ।





















