सिन्धुली । जिल्लाको भगवती अंग्रेजी माध्यामिक विद्यालय कमलामाई नगरपालिका ६ सिन्धुलीमाढी यस वर्ष नेपाल भरीका माध्यामिक विद्यालयमा वेस्ट सेकेन्डरी स्कुल इन नेपाल अवार्डबाट सम्मानित भयो । २०८२ असार ७ गते फोकस नेपालले देशभरीका १२ उत्कृष्ट माध्यामिक विद्यालयहरुमध्येबाट भगवती माविलाई छनौट गरि उक्त अवार्डबाट सम्मान गरेको हो ।
अवार्ड पाएको करीव एक सातामा एसईई २०८१ को नतिजा प्रकाशित भयो । २०८१ को एसईईमा विद्यालयले सतप्रतिशत नतिजा प्राप्त ग¥यो । एसईईमा ९५ जना विद्यार्थी सहभागि रहेकोमा विद्यालयका ५५ जना विद्यार्थीले ए प्लस नतिजा ल्याए । ४० जनाले ए ग्रेड प्राप्त गरे । २०८० को एसईईमा पनि विद्यालयका ६० प्रतिशत विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए । यो क्रम यो वर्ष र गत वर्ष मात्र हैन । भगवति माविबाट २०५८ सालदेखि नियमित एसएलसी र एसईई परीक्षामा सहभागि भएका विद्यार्थीले उत्कृष्टता हासिल गर्दै आएको देखिन्छ । विद्यालयले हरेक वर्ष शतप्रतिशत उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ ।
एसएलसी हुँदा फस्ट डिभिजन, डिस्टिङसन सिस्टममा डिस्टिङसन, ग्रेड सिस्टममा परीक्षा आइसक्दा ए प्लस र ए ग्रेडमा विद्यालयको उत्कृष्ट नतिजा छ । भगवतीबाट परीक्षा दिएका विद्यार्थीमध्ये एक पटक १ जना र एक पटक २ जनाले ४ जिपिए नतिजा ल्याएर जिल्लामा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गरेका छन ।
त्यति मात्र हैन भगवती मावि तत्कालिन जनकपुर अञ्चलभित्र पटक पटक उत्कृष्ट नतिजा लिदै आएको विद्यालय हो । यस विद्यालयबाट हालसम्म १ हजार १ सय ९२ जनाले माध्यामिक शिक्षा परीक्षा उत्तिर्ण गरिसकेका छन । ती विद्यार्थीहरु काठमान्डौका उत्कृष्ट प्लस टु, क्याम्पसहरुमा अब्बल रहेर पढाई अगाडि बढाएका छन । पूर्ण छात्रवृति, आंशिक छात्रवृति लिन सफल हुने भगवतीका विद्यार्थी अनुशासित र मेघावी विद्यार्थीको रुपमा पहिचान बनाईरहेको विद्यालयले जनाएको छ ।
भगवती माविले पछिल्लो समय वेस्ट सेकेन्डरी स्कुल अवार्ड पाउनुको पहिलो आधार निरन्तरको एसएलसी र एसईईको उत्कृष्ट नतिजा थियो । विद्यालयको शैक्षिक वातावरण, विद्यार्थी संख्या, सामाजिक उत्तरदायित्वमा विद्यालयको भूमिका, भौतिक पूर्वाधारको व्यवस्थापन, अनुशासन लगाएतको मुल्यांकनको आधारमा विद्यालयले उक्त अवार्ड पाएको विद्यालयका अध्यक्ष कृष्णकुमार उप्रेतीले बताए ।
नीजि विद्यालयहरु सामाजिक उत्तरदायित्व निर्वाह गर्दैनन भन्ने आम मानसिकता भन्दा फरक छ यो विद्यालय । जसले हालसम्म गरिब, असहाय, विपन्न, प्राकृतिक विपद पीडित, अविभावक विहिन, द्वन्द्वपीडित बालबालिकालाई निःशुल्क अध्ययन समेत गराउँछ । विद्यालयले आजसम्म यस्ता एक सय बढी बालबालिकालाई निःशुल्क शिक्षा दिईसकेको छ । असहाय बालबालिकाको शैक्षिक उत्थानमा यो विद्यालयले योगदान दिईरहेको छ ।
विद्यालयमा छात्रवृतिको व्यवस्था पनि छ । जहाँ पछिल्लो वर्ष २ सय ३३ जनाले पूर्ण तथा आंशिक रुपमा दलित, गरिब, असहाय, पीछडिएका, जनजाती, जेहेन्दार छात्रवृति समेत प्राप्त गरेका छन ।
वि.सं.२०७३ सालमा नेपाल सरकारले सूचिकरण गरेका नेपालका उत्कृष्ट २० विद्यालयमध्ये १७ औं नम्बरमा रहेको थियो यो विद्यालय । कोभिड १९ अगाडिसम्म यो विद्यालयमा मकवानपुर, काठमान्डौ, सिन्धुली, काभ्रे र तराईका जिल्लाहरु गरि ९ जिल्लाका विद्यार्थीहरु पढ्न आउँथे । पछिल्लो समय मधेश प्रदेशको रोजाईको शैक्षिक हव बन्दै गएको छ सिन्धुली । त्यहि रोजाईको विद्यालयको पहिलो प्राथमिकतामा पर्छ भगवती ।
कोभिड १९ को प्रभाव शिक्षा क्षेत्रमा परेको छ तर पनि विद्यार्थी संख्यामा भने विद्यालयले कहिले कमी महसुस गर्नु परेको छैन । तराईको उत्कृष्ट शैक्षिक गन्तव्यमा जिल्लाका नीजि विद्यालय परेका छन । ती मध्ये पनि पहिलो रोजाईमा भगवती नै पर्छ ।
भौतिक संरचना, जनशक्तिको व्यवस्थापनका आधारमा विद्यालयले विद्यार्थी भर्ना लिन्छ । चालु शैक्षिक सत्रमा विद्यालयमा १ हजार ४ सय ३५ जना विद्यार्थी अध्ययन गरिरहेका छन । ६५ जना टिचिङ स्टाफ (शिक्षक), र अन्य गरि ८७ जनाको जनशक्ति परिचालित छ । जसले जिल्लाका शैक्षिक संस्थाहरु पनि रोजगारीका उत्कृष्ट थलो हुन सक्छ भन्ने प्रमाणित गरिदिएको छ । विद्यालयले संस्कृति र संस्कारलाई प्राथमिकतामा राखेको छ । महिनाको अन्तिम मंगलबार आ–आफ्नो सांस्कृतिक, जातीय पोशाकमा विद्यार्थीहरु विद्यालय जान पाउँछन । हरेक चाडवाडलाई विद्यालयले संस्कार, संस्कृति र सिकाईसँग जोडेर मनाउने गरेको छ । गतवर्षदेखि कक्षा ६ र ७ मा संस्कृत विषयको पढाई समेत सुरु गरेको छ । संस्कृत शिक्षा दिने जिल्लाको सायदै पहिलो विद्यालय हो । नीजि विद्यालयले अंग्रेजी भाषालाई मात्र प्राथमिता दिन्छन भन्ने मान्यतालाई पनि यो विद्यालयले चिर्न खोजेको छ ।
बालक्लबको माध्यमबाट विद्यालयले खेलकुद, सामाजिक गतिविधिहरु समेत सञ्चालन गर्दै विद्यालयलाई समुदायसँग जोड्दै आएको छ । त्यस्तै सामुदायिक शिक्षामा योगदान दिने उद्देश्यले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने, सामुदायिक विद्यालयका बालबालिकालाई स्टेशनरी, ड्रेसहरु सहयोग गर्ने, विपदमा परेका बालबालिका र शैक्षिक संस्थाहरुलाई सहयोग गर्ने लगाएतका गतिविधिहरु विद्यालयले गरिरहेको छ । जसले सामुदायिक शिक्षामा समेत योगदान दिईरहेको छ ।
यस्तै स्मार्ट डिजिटल बोर्ड तथा अन्य प्रविधिबाट पढाईलाई प्रविधि मैत्री बनाउँदै लगेको छ भगवतीले । कोभिड १९ पछि प्रविधिलाई पढाईसँग जोडेको भगवतीले निरन्तर समयानुकुल प्रविधिमा शिक्षालाई जोडेको छ ।
२०६८ सालबाट विद्यालयले ११, १२ को पढाई सुरु गरेको छ । व्यवस्थापन, कानुन र कम्प्युटर साइन्समा पढाई हुने स्वीकृती यो विद्यालयसँग छ । कानुनबाहेक अरु विषय पढाई भईरहेका छन । कक्षा १२ को रिजल्ट पनि जिल्लामा उत्कृष्ट छ यो विद्यालयको ।
विद्यालयको व्यवस्थापन, गतिविधि र सफलताले विद्यालयले राष्ट्रिय स्तरका थुप्रै पुरस्कार प्राप्त गर्न सकेको विद्यालयका अध्यक्ष उप्रेतीले बताए । यो विद्यालय २०४८ सालमा ३५ जना विद्यार्थी पढाउन सुरु गरि सुरु भएको थियो ।





















