सिन्धुली । विहिबार दिउँसो गोलञ्जोर गाउँपालिका वडा नं. ७ तल्लो बारामा बस दुर्घटना हुँदा सत्ताईस जना घाईते भएका छन । बैंकका कर्मचारी सवार बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटना भएको हो ।
महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ००१प१७३२ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको शुभजीवन अस्पताल खुर्कोट र सुनकोशी अस्पतालमा उपचार भईरहेको छ । दुवै अस्पतालबाट २२ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल र काठमान्डौका विभिन्न अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । घाईतेमध्ये २ जनाको अवस्था अलिक गम्भिर रहेको पनि काफ्लेले बताएका छन ।
बैंकका २५ जना कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर काठमान्डौ फर्किँदै थिए । गाडीमा चालक र सहचालक गरि दुई जना स्टाफ रहेका थिए । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी स्थानीय लगायतले उद्धारको काम गरेका छन ।
बस सडकबाट ५० मिटर तल झरी घरमा ठोक्किएर उत्तानो परेर अडिएको उनले बताए । घटनामा घाईतेहरुको विवरण संकलन हुदै गरेको एसपी काफ्लेले बताएका छन ।




















