सिन्धुली । जिल्लामा सडक सुरक्षालाई ध्यान दिदैं प्रहरी निगरानी बढेको छ । दैनिक कम्तिमा पन्ध्र ठाउँमा सवारी साधन चेकजाँच गर्ने गरि सुरक्षा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले ट्राफिक नियम पालना गराउन, दुर्घटना कम गराउन र गैह्र कानुनी गतिविधि रोक्नका लागि फरक फरक ठाउँमा चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन ।
शुक्रबारदेखि सुरु भएको उक्त चेकजाँच ट्राफिक नियम पालना गराउन, बढ्दै गईरहेको सवारी दुर्घटना कम गर्न र अवैध ओसारपसार रोक्न केन्द्रीत रहने एसपी काफ्लेले बताएका छन ।
तीन वटा ठूला राजमार्गहरु विपी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग र जिल्लाका अन्य भित्री सडकहरुमा समेत चेकजाँचलाई बढाईएको काफ्लेले बताएका छन ।
यस्तै बजार क्षेत्र र बढी सवारी चाँप हुने स्थानहरुमा समेत चेकजाँचलाई प्राथमिकता दिईएको उनले बताए ।
चेकजाँचमा ट्राफिक नियमका बारेमा सम्झाउने, कागजपत्र चुस्त दुरुस्त भए नभएको जाँच गर्ने, शंकास्पद वस्तुको चेकजाँच गर्ने उनले बताए ।
नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र प्रहरीको बलियो उपस्थिति देखाउनका लागि यो अभियान सुरु गरिएको एसपी काफ्लेले बताएका छन ।
उनले ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त तथा एकल रुपमा पनि चेकजाँच गर्न सुरु गरिएको बताए । चेकजाँच गर्ने स्थान भने निश्चित नहुने र फरक फरक ठाउँमा फरक फरक समयमा चेकजाँच गरिने उनले बताएका छन ।






















