सिन्धुली । बन्दै गरेका भौतिक संरचना तथा कार्यालय भवनहरु पूर्ण अपांगमैत्री नबनेको भन्दै सिन्धुली अपांग महिला संघ सिन्धुलीले सिन्धुली अस्पताल र कनपा ५ को वडा कार्यालयको ध्यानाकर्षण गराएको छ ।
विहिबार संघले सिन्धुली अस्पतालका अध्यक्ष सतिशकुमार ढकाल र कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्कालाई ध्यानाकर्षण गराएकोे हो । संघका अध्यक्ष दिल कुमारी देवकोटा सहितको टोलीले दुवै जनालाई कार्यालयमा पुगेर लिखित रुपमा ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष दिलकुमारी देवकोटाले ध्यानाकर्षण पत्र बुझाएकी हुन । ध्यानाकर्षणपत्रमा बन्दै गरेको सिन्धुली अस्पताल भवन पूर्ण अपांग मैत्री बन्नुपर्नेमा जोड दिईएको छ । उक्त पत्रमा अस्पताल अपांगता भएका, जेष्ठ नागरिक, गर्भवति महिला, बालबालिका र दुर्घटनामा परेका व्यक्तिहरु सहजै पुग्न सक्ने गरि निर्माण गर्न ध्यानाकर्षण गरिएको छ ।
यस्तै कनपा ५ को मधुटारमा बन्दै गरेको वडा कार्यालय भवन पनि अपांगमैत्री नभएको भन्दै अपांगता भएका, जेष्ठ नागरिक, गर्भवति महिला, बालबालिकाको पहुँच पुग्ने गरि निर्माण गर्न संघले माग गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवन नगरपालिका भित्र बन्दै गरेको पहिलो वडा कार्यालय भवन समेत हो । सिन्धुली अस्पताल र वडा कार्यालय दुवै निर्माणको चरणमा छन ।
अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले भवन अपांगतामैत्री बनेको बताए । उनले केहि कमजोरी भएको भए सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
त्यस्तै वडा अध्यक्ष पूर्ण बहादुर खड्काले अपांगतामैत्री भवन निर्माणमा सहजीकरण गर्ने प्रतिवद्धता समेत जनाएका छन ।






















