सिन्धुली । कमलामाई नगरपालिका वडा नं. २ चियावारीमा भएको आगलागीबाट पीडितहरुलाई राहत संकलन हुने क्रम जारी छ । बैशाख १० गते राती (आइतबार) घरको दियो बालेको ठाउँबाट आगलागी हुदा ४ घर जलेर नष्ट भएको थियो ।
पीडित परिवारलाई खाद्य वस्तु, अखाद्य वस्तु तथा नगद राहत संकलन भईरहेको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले ११ गते नै आगलागी स्थलमै पुगेर गैह्र खाद्य सामग्री राहत प्याकेज उपलब्ध गरायो ।
आगलागी पीडितलाई ब्लु अल्पाईन क्लब सिन्धुलीले मंगलबार खाद्य सामग्री राहत उपलब्ध गरायो । क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल, मसौरा, दाल, बेसार, आलु, चिउरा, तेल तथा नुन लगायतको खाद्मान्न राहत स्वरुप सहयोग गरियो ।
यसैगरि कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको भगवती माविका बालबालिकाहरू आवद्ध भगवती बाल क्लब र भगवती जुनियर रेडक्रस सर्कलले शुक्रबार अग्नि पीडितलाई २५ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग गरेको छ । शुक्रबार घटना स्थल कमलामाई नगरपालिका २ चियाबारीमा मै पुगेर बालिबालिका सहित बिद्यालयका प्रिन्सिपल कृष्ण उप्रेती र आर्थिक ब्यबस्थापन प्रमुख रमाकान्त सुबदीकोले उक्त रकम सहयोग गरेका हुन ।
यसैगरी समाजसेवी तथा नेकपा एमालेका कमलामाई नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठको नेतृत्वमा शनिबार ३४ हजार २ सय पचास रुपैंया सहयोग गरेका छन । विभिन्न व्यक्तिहरु तथा संस्थाहरुको सहयोगमा उक्त रकम संकलन गरि सहयोग गरिएको श्रेष्ठले बताए ।
आगलागीबाट राजकुमार श्रेष्ठ, योग बहादुर थापा, गंगा बहादुर थापा र कौशल थापाको घरमा पूर्णरुपमा क्षति भएको थियो भने एक करोड १६ लाख २० हजार बरावरको क्षती भएको थियो ।






















