सिन्धुली । समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन ।
बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण गरेकी हुन ।
व्यक्तिगत लगानीमा गुरुङले साडी ८ पिस, कुर्ता सुरुवाल ७२ पिस, २ वटा कलर टिभि र १३ वटा इलेक्ट्रिक जग हस्तान्तरण गरेकी हुन । उनले कारागारभित्र रहेका आश्रित बालबालिकालाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।
सिन्धुली आफ्नो जन्मथलो भएको र महिलाका आवश्यकता फरक हुने भएकाले आफु कैदीबन्दी जीवन विताईरहेका महिलालाई सहयोग गर्न आएको गरुङले सो अवसरमा बताएकी छिन । कारागारका प्रमुख कुशल न्यौपानेलाई उनले टिभि हस्तान्तरण गरेकी छिन भने लत्ता कपडा महिला कैदीबन्दीलाई हस्तान्तरण गरेकी छिन ।
ती सबै सामग्री महिला कैदीबन्दीका लागि भएकाले सोहि अनुसार व्यवस्थापन मिलाईदिने कारागार प्रमुख न्यौपानेले बताएका छन । कारागार सिन्धुलीमा ३९ जना कैदी र ४१ जना थुनुवा गरि ८० जना महिला कैदी बन्दी रहेका छन । आश्रित बालबालिका ११ जना र पुरुष कैदीबन्दी ७४८ जना रहेका छन ।






















