सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले नगरपालिका भित्रका सबै विद्यालयमा असार १ गतेदेखि वैकल्पिक माध्यम मार्फत् अध्यापन अगाडि बढाउने भएको छ । कमलामाई नगरपालिकाका प्रमुख तथा कमलामाई नगर शिक्षा समतिका अध्यक्ष खड्ग खत्रीको अध्यक्षतामा बुधबार बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाले पहिलो चरणमा गृहकार्य तथा परियोजना कार्य प्याकेज मार्फत शिक्षक, विद्यार्थी र अभिभावकसंग जोडिने गरी कार्ययोजना तयार गरेको जनाएको छ ।
नगरपालिकाका केही विद्यालयहरुले बन्दाबन्दीको अवस्थामा पनि शैक्षिक योजना निर्माण, होमवर्क प्याकेज, अनलाइन कक्षा सञ्चालन लगायतका बैकल्पिक उपायहरु अबलम्बन गरिरहेका छन् । नगरपालिकाले असार १ गतेदेखि १५ गतेसम्म गृहकार्य प्याकेज वितरण गर्न सबै नीजि तथा सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
नगरपालिकाले पालिकामा रहेका विद्यार्थीहरुमध्ये इन्टरनेट, टेलिभिजन, रेडियो एफएम लगायत सूचनाको पहुँचमा रहेका तथा कुनै पनि प्रविधिको पहुँचमा नरहेका विद्यार्थीहरुको पहिचान गरी सोही अनुरुपको बैकल्पिक शिक्षा प्रणाली लागू गर्ने तयारी गरेको हो ।
नगरपालिका भित्रका विद्यालयहरुले पाठ्य पुस्तक वितरण गरिसकेको अवस्थामा शिक्षक अविभावक र विद्यार्थीलाई जोडि होमवर्क दिने र सोको जानकारी नगरपालिकाको शिक्षा शाखामा गराउने गरि पहिलो चरणमा १५ दिने होमवर्कको प्याकेज बनाउन समेत नगरपालिकाले सबै विद्यालयलाई निर्देशन गरेको छ ।
सूचनाको पहँुचमा नरहेका बालबालिकालाई घरमै गएर भए पनि होमवर्क उपलब्ध गराउनुपर्ने छ । होमवर्कको प्रभावलाई हेरी नगरपालिकाले थप योजना बनाउने भएको छ ।
नगरपालिकाको शिक्षा शाखाले जारी गरेको निर्देशनमा प्रधानाध्यापकहरुले आ–आफ्ना विद्यालयका शिक्षकहरुसंग सम्पर्क र समन्वय गरी होमवर्क प्याकेज तयार गरी भौतिक दूरी कायम गर्दै सावधानीका उपायहरु अबलम्बन गरेर कक्षागत रुपमा पालैपालो विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर होमवर्क प्याकेज वितरण गर्न समेत अनुरोध गरिएको छ ।
होमवर्क प्याकेज दिदा बालविकासदेखी कक्षा ३ सम्मका बालबालिकाहरुलाई पठन कार्य बढी र लेखन कार्य कम तथा कक्षा ४ देखी मास्तिरका बालबालिकाहरुलाई लेखन कार्य तथा परियोजनाकार्य बढी दिनेगरी होमवर्क प्याकेजको व्यवस्था मिलाउन र प्रधानाध्यापकले विद्यालय ब्यवस्थापन समिति र आफ्ना शिक्षक स्टाफहरुसंग सम्पर्क र समन्वय गरी विभिन्न माध्यमले आफ्ना बालबालिकाहरुलाई होमवर्क प्याकेज दिने वा स्वअध्ययनको लागि प्रोत्साहित गर्न गराउन अनुरोध गरिएको छ ।





















