सिन्धुली । कोभिड १९ को संक्रमण बढीरहेका बेला सिन्धुलीको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाले विकासका कामलाई खुला गरेको छ । हिउँदे अधिवेशन पछि विकासका काम अगाडि बढाउन नसकेको कमलामाई नगरपालिकाले बजेट फ्रिज जान सक्ने भन्दै विकासका काम सञ्चालन गर्न सहमति जुटाउन निकै प्रयास गरेको थियो ।

मंगलबार सिन्धुलीमाढीमा नगर प्रमुख खड्ग खत्रीको अध्यक्षतामा बसेको बैठकले आ.ब. ०७६÷०७७ मा सन्चालन गरिने विकास निर्माणका कार्यहरुमध्ये लकडाउनको कारण निर्माण रोकिएका योजनाहरु सामाजिक दुरि लगायत अन्य आवश्यक सजगता अपनाई सुचारु गर्ने निर्णय गरेको हो । यस अघिदेखि नै कमलामाई नगरपालिकाले आन्तरिक रुपमा योजनाहरु सञ्चालन गरिसकेको छ ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाका अनुसार नगरपालिकाका करिब ५ सय योजना रहेका थिए । ती झण्डै १ सयको हाराहारीका योजनाहरुको अनुगमन र फरफारक बाँकी छ । केहि योजनाहरुको सम्झौता भएर सञ्चालन हुन सकेका छैनन भने केहि योजनाको सम्झौता हुन बाँकी नै छ ।
उनले भनिन, ‘बैशाखको अन्तिमसम्म पनि नगरपालिकाका करिब ५० प्रतिशत काम हुन सकेको छैन, बाध्यताले नगरपालिकाले योजना सञ्चालन गर्ने निर्णय गरेको हो ।’




















