सिन्धुली । कमलामाई नगरपालिका र युएनडिपीको सहयोगमा नगरपालिका भित्र सञ्चालित महिला नमुना उद्यमशिलता परियोजना कार्यक्रमको विहिबार अनुगमन गरिएको छ । नगरपालिका भित्र महिला नमुना उद्यमीहरु उत्पादन गर्ने लक्ष्य सहित जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुलीले सञ्चालन गरेको परियोजनाका तालिम तथा व्यवसायहरुको संयुक्त अनुगमन गरिएको हो ।
उक्त परियोजना अन्तर्गत गार्मेन्ट तालिम, ढाका बुनाई तालिम, केरा खेति, फूल खेति लगाएतको अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कमलामाई नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पूर्ण बहादुर खड्का, परियोजनाका फोकल पर्सन वविन्द्रलाल माझी, डिमेगाका अध्यक्ष तोतादेवी बोगटी, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका उप महासचिव मेघ बहादुर कार्की तथा डिमेगाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Advertisement. Scroll to continue reading.
अनुगमन टोलीले कनपा ५ मधुटारको फूल खेति, कनपा ५ गैंयाटारको केरा खेति, कनपा ६ को गार्मेन्ट तालिम र उत्पादन, कनपा ८ को ढाका तालिम र फूल खेति, कनपा ७ लुंगेलीटारको ढाका तालिम तथा उत्पादनको अनुगमन गरेको हो ।
उक्त अनुगमनमा फूल खेतिले उत्पादन दिईसकेको पाईएको छ भने गार्मेन्ट सामान उत्पादन हुन थालेको, ढाकाबाट ढाका कपडा उत्पादन सुरु भईसकेको पाईएको छ । केरा खेतिका लागि भने समय लाग्ने भएकाले उत्पादन भई नसकेको पाईएको छ ।
उत्पादित सामानहरुको बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने र व्यवस्थापनको काम समेत सहयोग गर्नुपर्ने अनुगमनमा पाईएको छ । डिमेगाले यो परियोजना अन्तर्गत फूलमा ३० जना, टपरीमा २० जना, केरामा ४१ जना, गार्मेन्टमा १० जना, जुनार नर्सरीमा १२ जना र ढाकामा ३० जनालाई तालिम दिई व्यवसाय गर्नका लागि दक्ष बनाएको छ ।
यो परियोजना ९ महिने परियोजना भएको र महिलाहरुलाई सफल र नमुना उद्यमी बनाउन कार्यक्रम सुरु गरिएको हो ।