सिन्धुली । नागरिक समुदायको पैरवी कार्ययोजना निर्माण कार्यशाला सिन्धुलीमाढीमा शनिबार सम्पन्न भएको छ । मानवअधिकार, महिला तथा बाल अधिकारका क्षेत्रमा क्रियाशिल नागरिक संस्थाका अगुवाहरुले एक वर्षमा जिल्लामा गर्ने पैरवीका कार्यक्रमको तय गर्नका लागि कार्यशाला गरिएको हो ।
ओरेक नेपाल सिन्धुलीको आयोजना तथा प्लान नेपालको सहयोगमा भएको कार्यक्रममा सहभागि नागरिक समाजका अगुवा संस्थाका प्रतिनिधिहरुबीचको वृहत छलफलपछि आएका सुझावहरुलाई समेटेर कार्ययोजना निर्माण गर्न समिति गठन गरिएको छ ।
सात सदस्यीय उक्त समितिमा प्राध्यापक अर्जुन पौडेल, नेपाल बार एशोसियसनका अध्यक्ष जंग बहादुर राई, इन्सेकका जिल्ला प्रतिनिधि बिमला पाण्डे, युवा सञ्जालका अध्यक्ष रामकाजी घलान, ओरेक नेपालका सपना थापा, जेष्ठ नागरिक राम बहादुर हायु, मेलमिलापकर्ता गंगा सत्याल रहेका छन । समितिले एकहप्ता भित्र कार्ययोजना निर्माण गरि सबै सरोकारवाला नागरिक संस्थाहरुलाई जानकारी दिने छ ।
महिला, पत्रकार, किशोरी, बाल सञ्जाल, बालबालिका, जेष्ठ नागरिक, युवा, कानुन व्यवसायी र प्राज्ञ समेतको सहभागितामा भएको छलफलमा स्थानीय सरकार र प्रहरी प्रशासन तथा कानुन कार्यान्वयन गर्ने निकायको सहकार्य र तदारुकता नभएमा महिला हिंसा, बालविवाह, बालश्रम, बहुविवाह न्युनिकरण र महिला मैत्री वातावरण निर्माणमा काम गर्न नसकिने निश्कर्ष निकालिएको छ ।
कार्यक्रममा स्थानीय सरकारलाई बालबालिका र महिलामैत्री नीति निर्माणका लागि र कानुन कार्यान्वयनका निकायलाई कानुन कार्यान्वयनमा सहजीकरण नगरेमा पीडितले न्याय नपाउने भएकाले पैरवी आवश्यक रहेको सहभागिहरुले बताएका थिए । उनीहरुले राजनीति र स्थानीय सरकारलाई जवाफदेहि र सचेत गराउनु पहिलो आवश्यकता देखिएको समेत बताए ।





















