सिन्धुली । प्रतिनिधि सभा सदस्य गोमा देवकोटाले चाडवाडमा महिलाहरु मदिराका कारण अत्यधिक हिंसामा पर्ने गरेका कारण प्रहरी, प्रशासन र सिंगो समाज नै मदिराजन्य हिंसाको न्युनिकरणमा लाग्नुपर्ने बताईन । उनले संस्कृति र चाडबाडलाई महिला आन्दोलन र अधिकारसँग जोड्न सबैलाई सुझाव समेत दिएकी छिन ।
शुक्रबार नेपाल पत्रकार महासंघ सिन्धुली, क्रियाशिल पत्रकार महिला सिन्धुली र ओरेक नेपाल सिन्धुलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा चाडपर्व र लैंगिक हिंसा विषयक अन्तक्र्रियामा बोल्दै उनले त्यस्ता बताएकी हुन ।
उनले न्यायको पहुँचमा नपुगेका महिला तथा बालबालिकाको न्याय दिलाउनका लागि अधिकारकर्मी र पत्रकारहरुको भूमिका उल्लेखनीय हुनपर्नेमा जोड दिईन । प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजीतिक, सामाजिक क्षेत्र र पत्रकारितामा लागेका महिलाहरुले थप राजनीतिक हिंसा समेत भोग्दै आएको बताईन । उनले भनिन, ‘राजनीतिमा पनि हिंसा छ । अन्य हिंसाको साथमा हामीले राजनीतिक हिंसा पनि भोगेका छौं’ उनले थपिन, ‘पत्रकार र अधिकारकर्मी झनै असुरक्षित छन ।’ उनले पुरुष प्रधान चिन्तन परिवर्तन गरि समान दृष्टिकोण नराखेमा महिलाहहरु अघि बढ्न निकै गाह्रो रहेको बताईन ।
महिलाका सहभागिता नेतृत्व तहमा भएर मात्र महिलाको विकास नहुने बताउँदै सांसद देवकोटाले महिलाहरुलाई तल्लो तह देखि नै सशक्त बनाउन आवश्यक रहेको बताईन । उनले भनिन, ‘जग बलियो नभए घर बलियो हुदैन, तल्लो स्तरदेखि नै महिलाको सशक्तिकरण गरौं ।’ देवकोटाले महिला हिंसामा संवेदनशिल हुन सिन्धुलीबासीलाई आग्रह समेत गरेकी छिन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले लैंगिक हिंसाका घटनामा न्याय सम्पादनमा समस्या रहेको बताए । उनले सबैले न्याय सम्पादनमा बाधा ग¥यौं की भनि समिक्षा गर्ने हो धेरै मुद्दाका पीडितहरुले न्याय पाउने विश्वास व्यक्त गरे । उनले मिडियाले न्याय सम्पादनमा बाधा अवरोध गर्नेलाई खोजि खोजी सार्वजनिक गर्ने हो भने धेरै पीडितले न्याय पाउने बताए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले लैंगिक हिंसा न्युनिकरणमा अधिकारकर्मी, पत्रकार, नागरिक समाज र न्याय सम्पादन गर्ने निकायको साथ र एकता नभएमा सम्भव नभएको बताएकी छिन । उनले लैंगिक हिंसाको अवस्थाको पहिचान र विश्लेषण गरि कार्ययोजना बनाएर काम गर्न नगरपालिकाले थालेको बताइन । उनले व्यक्ति व्यक्तिमा सकारात्मक सोंचको विकास गर्नुपर्ने आवश्यकता रहेको बताईन ।
कार्यक्रममा बोल्दै सिन्धुलीका प्रहरी प्रमुख चक्र बहादुर सिंहले लैगिक हिंसामा बलात्कार र घरेलु हिंसा बढ्दो भएको बताउँदै घरेलु हिंसाको मुख्य कारण मदिरा देखिएको बताए । उनले चाडबाडमा मदिरा अनिवार्य जस्तो गरि संस्कारका रुपमा आएको अवस्थामा लैंगिक हिंसा न्युनिकरण चुनौती बनेको बताए ।
नेपाल पत्रकार महासंघका प्रदेश सचिव राजन गाउँलेले सबैको सहकार्यमा लैंगिक हिंसा न्युनिकरण गर्दै लैंगिक हिंसा मुक्त सिन्धुली बनाउन अभियान थाल्नुपर्ने बताए । उनले सञ्चार र मानवअधिकारकर्मीको भूमिकामा केहि कमी आएको बताउँदै लैंगिक हिंसा न्युनिकरणमा सुरक्षा चुनौतीमा समेत ध्यान दिनुपर्ने बताए ।
पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अकोरावका प्रदेश नं. ३ का अध्यक्ष कृष्णहरि घिमिरे, महिला अधिकारकर्मीहरु सविता कोइराला, अप्सरा खड्का र गिता देवकोटा लगाएतले सुझाव तथा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले धन्यावाद ज्ञापन गरेका थिए भने ओरेक सिन्धुलीका संयोजक सपना थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । कार्यक्रमको सहजीकरण क्रियाशिल पत्रकार महिला सिन्धुलीका अध्यक्ष सुजता लामाले गरेकी थिइन ।





















