सिन्धुली/प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले देश परिवर्तन हुनका लागि महिलाहरुमा आमुल परिवर्तन र सशक्तिकरण आवश्यक रहेको बताएकी छिन । देवकोटाले महिलाहरुलाई राजनीति र सामाजिक क्षेत्रले नै सशक्त बनाउने भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा लाग्न महिलाहरुलाई सुझाव दिएकी छिन । कमलामाई नगरपालिका सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन ।

महिलाहरुको देशका ठूला ठूला राजनीतिक परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा पुलिसको लाठि र गोली खान तयार भएको स्मरण गर्दै देवकोटाले ‘महिलालाई आन्दोलनकारीका रुपमा मात्र प्रयोग नगरि समान सहभागितामा समेत ध्यान दिन’ आग्रह गरिन ।
नेकपाको महिला विभाग इन्चार्ज समेत रहेकी देवकोटाले राज्य र राजनीतिक पार्टीले महिलाई उपेक्षा गरेको समेत बताईन । उनले भनिन, ‘अब राजनीतिक संस्कार फेर्न आवश्यक छ, महिलाहरुको अधिकार र सहभागितामा जोड दिऔं ।’ महिलाको काम, योगदानको कदर गर्ने संस्कारको विकास गर्न सुझाव दिदैं उनले थपिन, ‘गिट्टी कुट्ने, जुठा भाँडा माझ्ने बच्चा हेर्ने जस्ता सबै खाले महिलाको कामको सम्मान हुन आवश्यक छ । तर महिलाहरु उपेक्षित भईरहेका छन ।’
उनले महिलाहरुलाई अधिकार मागेर हुन्छ वा खोसेर लिन समेत आग्रह गरेकी छिन । कार्यक्रममा बोल्दै सांसद विनोद खड्काले महिलाहरुको कामको मुल्यांकन हुन जरुरी रहेको बताए ।
नेकपाका केन्द्रीय सदस्य उमा कोइरालाले महिलाहरु आर्थिक सामाजिक र राजनीतिक रुपमा सशक्त हुन जरुरी रहेको बताईन । यस्तै नेपाली कांग्रेसका सभापति उज्जल बरालले स्थानीय सरकारले महिलाहरुलाई तीजको अवसरमा विशेष विदाको व्यवस्था गर्न आग्रह गरे ।
कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवार, नेकपाका ज्वाला प्रसाद देवकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कमलामाई नगरपालिकाले तीजको अवसरमा ३० जना विभिन्न क्षेत्रका नेतृत्वमा रहेका महिलाहरुको आवाजमा ४ वटा रेडियोमा तीजको महत्व र हुदा खाने र हुने खाने महिलाको तीजका विषयमा प्यानल छलफल समेत गरेको थियो । प्यानल छलफलमा सहभागि महिलाहरुलाई नगर उपप्रमुख मञ्जु देवकोटाले खादा ओढाएर सम्मान गरेकी थिईन ।




















