सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बाटोका कारण निर्माण सामग्री लान नसकेर घर बनाउन नपाएकाहरुको लागि नगरपालिकाले सम्बोधन गर्ने बताएका छन । बुधबार इन्सेक सिन्धुली र जिल्ला स्तरीय मानवअधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा कनपा १ को मझिनीदमारमा सम्पन्न भुकम्पपछिको पुननिर्माणको सवालको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले सबै भुकम्पपीडितलाई घर बनाउन आग्रह गर्दै नगरपालिकाले गर्न मिल्ने सबै सहयोग गर्न नगर तयार रहेको बताए । उनले पहिलो किस्ता लिनका लागि सम्झौता नगरेका लाभग्राहीलाई असार मसान्तसम्म सम्झौता गर्नका लागि अनुरोध समेत गरे ।

यस्तै पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय ईकाइका अनुगमन तथा मुल्यांकन विज्ञ किरण कुमार महतले भुकम्पपछि र प्राविधिक गाउँमा नआउँदै बनेका घरलाई एकमुष्ट ३ लाख अनुदान दिने सरकारले निर्णय गरेकाले केहि समस्या हल हुने बताए । महतले लामो समयसम्म किस्ताको भुक्तानी रोकिएकाले लाभग्राहीलाई केहि गाह्रो भएको बताउँदै यसको एकहप्ता भित्रै समस्या समाधान हुने बताए ।
यस्तै जिल्ला आयोजना कार्यान्वयन ईकाईका सामाजिक विकास विज्ञ तारा लामिछानेले पहिलो किस्ता लिएर घर बनाउन नसक्नेले सहुलियत ऋण लिन सक्ने बताएका छन । कनपा १ का वडाध्यक्ष महेश कुमार खतिवडा लगाएतले भुकम्पपीडितका गुनासाको सम्बोधन क्रमश भएको बताउँदै अब १०४ जनाको समस्या समाधान गर्न बाँकी रहेको बताए । उनले वडामा ७२१ जनाले सम्झौता गरेकोमा ५९६ जनाले दोस्रो किस्ता लिएको र ८४ जनाले घर सम्पन्न गरिसकेको बताए । उनले पुनःनिर्माणसँग सम्बन्धित समस्या धेरै हल भएको र केहि बाँकीको पनि तत्काल समाधान गरिने बताए ।
कार्यक्रममा बाटो नपुगेका कारण निर्माण सामग्री लान नसक्दा घर बनाउन नसकेको, सहुलियत ऋण नपाएको, पैसा अभावले छानो छाउन नसकेको, प्राविधिक घर घरमा पुग्न नसकेको, भत्केको घर पनि लाभग्राही सूचिमा पर्न नसकेको, समयमा किस्ता भुक्तानी हुन नसकेको लगाएतका समस्या भुकम्पपीडितले उठाएका थिए ।
कार्यक्रममा विषयवस्तुबारे जिल्ला स्तरीय मानवअधिकार सञ्जालका सदस्य विदुर पौडेलले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले गरेकी थिइन ।




















