सिन्धुली । आइतबार १६औँ धान दिवस । देशभर १६ औँ धान दिवसको तयारी भइरहेको छ । सिन्धुलीमा पनि धान दिवसको तयारी तिव्र रुपमा भइरहेको छ । जिल्लाको भिमान, दुधौली लगायतका विभिन्न क्षेत्रहरुमा १६ औँ धान दिवस भव्यताका साथ मनाउने तयारी भइरहेको छ । सिन्धुलीमा धान दिवस मनाउने तयारी तिव्र भइरहँदा धान रोपाइँ भने ३.५ प्रतिशत मात्र भएको छ ।
असारको दोस्रो साता वितिसक्दा जिल्लाको १६ हजार ४ सय ८२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ५ सय ७६ हेक्टर अर्थात् क्षेत्रफल मध्ये ५७६ हेक्टर अर्थात ३ दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाईं सम्पन्न भएको हो ।
शनिबार सिन्धुलीमाढीमा धान दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै समयमा पानी नपर्दा जिल्लामा रोपाईं हुन नसकेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले जानकारी दिए ।
गत वर्ष यस सिजनमा झण्डै ४५ प्रतिशत खेतमा धान रोपाईं सम्पन्न भई सकेको थियो । ‘तर, यस वर्ष भने ढिलागरी मनसुन सुरु भएका कारण धानको ब्याड राख्नै ढिला हुँदा धान रोपाईं पनि काम भएको हो,’ ढकालले भने ।
जिल्लाको कमलाखोंच, मरिण, तीनपाटन र सदरमुकाममामात्र धान रोपाईं सुरु भएको छ । जिल्लाको सुनकोसीगढतीर क्षेत्रको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिकास्थित गढतीर क्षेत्रमा किसानले बल्ल धानको ब्याड राख्न थालेका छन् । यस क्षेत्रमा हरेक वर्ष निकै कममात्रामा वर्षा हुने गरेको छ । ‘मौसमले साथ नदिएका कारण किसानले धानको ब्याड ढिलागरी राख्दा रोपाईं पनि ढिलो हुने निश्चित भएको छ,’ उनले भने ।
वर्षा कम हुँदा पानीको मुहान सुकेका छन् । वर्षौंदेखि उपभोग गर्दै आएका सिंचाई कुलाहरूमा पनि पानी सुकेपछि किसानहरूले गढतीर क्षेत्रमा सुनकोसी नदीको पानि लिफ्ट गरेर धानका ब्याड राख्न थालेको भएपनि रोपाईं गर्न आकासकै पानीको भर पर्नु पर्ने बाध्यता छ ।
जिल्लाको १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफल मध्ये ३० प्रतिशत जमिनमा मात्र सिंचाई कुलोको सुविधा छ । बाँकी ७० प्रतिशत जमिन आकासे पानीका भरमा सिंचाई हुँदै आएको छ । ‘तर, यस वर्ष सिंचाई कुलो लाग्ने जमिनमा समेत पानि नहुँदा रोपाईं हुन नसकेको हो,’ उनले थपे ।
जिल्लामा पछिल्लो समय धान उत्पादनमा वृद्धि हुँदै आएपनि यस वर्ष भने मौषम अनुकूल नहुँदा उत्पादन बृद्धिदरमा कमी आउन सक्ने बताइएको छ । असार १५ हुँदासम्म साढे तीन प्रतिशत मात्र रोपाईं भएकाले सिजनमै धान रोपाईं नसकिने पक्का जस्तै हुँदा धान उत्पादनमा कमी आउन सक्ने वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारी बताउँछन् । जिल्लामा गत वर्ष ५५ हजार ९ सय ३० मेक्ट्रिक टन धान उत्पादन भएको थियो । सिन्धुलीमा चैते र वर्षे सिजनका जातका धान बाली लगाउने गरिएको छ ।
हत्पते र भिमानमा धान दिवस
यसैबीच यस वर्षको धान दिवस सिन्धुलीको दुधौली नगरपालिकाको हत्पते र कमलामाई नगरपालिकाको भिमानमा मनाउने तयारी गरिएको छ । दुधौली नगरपालिका २ भलुवाहीमा प्रदेश सरकारको सहयोगमा यसै वर्षबाट सुरु गरिएको सहकारीमा आधारित सामूहिक चक्लाबन्दी खेती कार्यक्रम संचालन भएको नमुना कृषि सहकारीले धान दिवसमा धान रोपेर महोत्सव मनाउन लागेको हो । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाउन थालिएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए । यस्तै कमलामाई नगरपालिका सिन्धुलीले कनपा ९ को भिमानमा धान दिवस मनाउने तयारी गरेको नगरपालिकाका उपमेयर तथा कृषि समिति संयोजक मञ्जु देवकोटाले बताईन ।





















