सिन्धुली/कमलामाई नगरपालिकाले नगर क्षेत्रका ऐलानीमा बसोबास गरेकाहरुको अभिलेखिकरण गर्न सुरु गरेको छ । ऐलानी र सार्वजानिक जग्गाहरूको लगत संकलन र अभिलेखिकरण गरि नगरपालिकाको वास्तविक अवस्था पत्ता लगाउन र बसोबासलाई व्यवस्थित गर्न अभिलेखिकरण गर्न थालिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
लगत संकलन तथा अभिलेखिकरणको सुरुवात शुक्रबारदेखि कमलामाई नगरपालिकाको वडा नंं ८ बाट सुरु गरेको कमलामाई नगरपालिकाका सूचना अधिकारी विनोद खकुरालले बताए ।
कनपा वडा न. ८ का धन कुमारी कार्की र वोध वहादुर तामाङको जग्गा नापी गरि कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । नगरपालिकाले ऐलानी जग्गाको व्यवस्थापनका लागि कार्यविधि तयार गरेसँगै लगत लिन सुरु गरेको खकुरालले जानकारी दिए ।
लगत संकलनको काम सकिएपछि यसलाई थप व्यवस्थित गरिने पनि नगरपालिकाले जनाएको छ । लगत संकलन पछि ऐलानी जग्गामा बसेकाहरुलाई लालपूर्जा वितरण समेत गरिने नगरपालिकाले जनाएको छ ।





















