सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा शनिबार साँझ खसेको हाईलेक्स पिकअप गाडीमा सवार यात्रुहरु अझै फेला परेका छैनन ।

खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको प्र.नं.३–०१–०२३च६३६६ नम्बरको हाइलेक्स पिकअप शनिबार साँझ साढे पाँच बजे सुनकोसी नदीमा खसेको थियो । गाडी शनिबार साँझ ७ बजे नदीमा डुवेको अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा परि नदीमा वेपत्ता भएका तीनै जनाको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
बेपत्ता हुनेमा भक्तपुरका अविन बाके, बलराम घटुवा र प्रनित स्यागु रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार सूर्यविनायक नगरपालिकाको जगाती बस्ने सुशान्त कक्षपती भने पानीबाट पौडिएर निस्कन सफल भएका छन् । उनी घाइते छन् । घाइते कक्षपतीको पाता, कुहिनो र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको खुर्कोटमा उपचार भईरहेको छ । उद्धार कार्यमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोली जुटिरहेको छ ।

गाडी अनियन्त्रित भई सडकबाट खसेको अनुमान गरिएको छ । गाडी सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।




















