सिन्धुली । वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले वागमति प्रदेशका सबै पालिकामा एक वटा उद्योग आवश्यक रहेको बताएकी छिन । स्थानीय आवश्यकता र पहिचानलाई मध्यनजर गरि मन्त्रालयले एक पालिका एक उद्योग स्थापनाका लागि काम सुरु गरेको बताएकी छिन ।
स्थानीय श्रोत, साधन र मागलाई ध्यानमा राखेर उद्योगका लागि सिफारिस गर्न समेत उनले पालिकालाई आग्रह गरेकी छिन । उनले शनिबार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमतीले आयोजना गरेको २५ औं स्थापना दिवस तथा रजत वर्ष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन ।
तामाङले नदी उकास जग्गालाई उद्योग स्थापनाका लागि प्रयोग गर्नुपर्नेमा समेत जोड दिएकी छिन । मन्त्री तामाङले जनजाती आन्दोलनलाई सफल बनाउन गैह्रजनजातीहरुको समेत उल्लेख्य योगदान रहेको बताउँदै जनजाती पत्रकारहरुले त्यस्ता विषयमा समेत ध्यान दिन आवश्यक रहेको बताएकी छिन । समावेशीको मुद्दामा सबै जातीका मानिसहरुको सकारात्मक भूमिकालाई स्मरण समेत गरेकी छिन । उनले सबैको सहयोग विना समावेशी आन्दोलन सफल नहुने समेत बताईन ।
फोनिज वागमती प्रदेशको आयोजना तथा फोनिज सिन्धुलीको समन्वयमा सिन्धुलीमाढीमा सम्पन्न कार्यक्रममा बोल्दै वागमति प्रदेश सभा सदस्य मातृका भट्टराईले पत्रकारीता र राजनीतिक क्षेत्र जत्तिकै मजवुद क्षेत्रमा जनजाती पत्रकारहरु रहेको बताउँदै जनजातीका मुद्दालाई साझा मुद्दा बनाउन आग्रह गरे ।
फोनिज वागमतीका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता एवम उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ बुँदे सिन्धुली घोषणापत्र समेत जारी गरिएको छ । सिन्धुलीका पर्यटकीय क्षेत्रहरुमा पर्यटन विकास गर्नुपर्ने, सत्यनारायण बहादुर श्रेष्ठलाई आधार प्रमाणका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने, नेपाल पत्रकार महासंघको सुद्धिकरण अभियानमा फोनिजकर्मीलाई हटाउने काम गर्न नहुने लगाएतका बुँदाहरु रहेका छन ।
कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरे लगाएतले शुभकामना व्यक्त गरेका थिए ।






















