सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ लाई वालमैत्री वडा घोषणा गर्न आईतबार समिति गठन गरिएको छ । समिति गठनसँगै बालमैत्री स्थानीय शासन कार्यान्वयनको काम सुरु भएको छ ।
कमलामाई नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पूर्ण वहादुर खड्काको अध्यक्षतामा भएको भेलाले वडाअध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय वडास्तरीय वालमैत्री स्थानीय शासन समिति गठन गरेको हो ।
वडालाई वालमैत्री वडा घोषणा गर्नका लागि नगरपालिकाले वडा नं. ५ लाई प्राथमिकतामा राखेसँगै वडास्तरीय समिति गठन गरिएको हो । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, महिला बालबालिका शाखाका प्रमुख एवम् बालकल्याण अधिकारी इन्दिरा थापा, शाखाका कर्मचारी सावित्रा रेग्मीको उपस्थितिमा समिति निर्माण गरिएको हो ।
वडा समिति गठनपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले वडालाई एक वर्षभित्रमा बालमैत्री वडा घोषणा गर्न सुझाव दिएका छन ।
उनले नगरपालिकाले २०८४ भित्रमा नगरलाई नै बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको बताउँदै बालमैत्री स्थानीय शासनका ५१ सूचक पुरा गर्न समितिले सफलता प्रापत गर्ने विश्वास लिए ।
कार्यक्रममा बोल्दै पत्रकार तथा मानवअधिकारकर्मी बिमला पाण्डेले वडालाई बालमैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, स्थानीय स्वास्थ्य संस्था, शैक्षिक संस्था, टोल विकास संस्था लगाएतका सामुदायिक संस्था र समुदाय सबै जिम्मेबार भएर लाग्नुपर्ने बताईन ।
उनले बालमैत्री स्थानीय शासनमा काम गर्दा मान्छेको जीवनको पहिलो अधिकारका बारेमा काम गर्नुका साथै विकासका धेरै आयामहरुमा काम गरिने समेत बताईन ।





















