सिन्धुली । सोमबार मदन भण्डारी राजमार्गमा कार र हायस ठोक्किदा दुई जना बालक सहित एघार जना घाईते भएका छन । उदयपुरको कटारीबाट भिमानतर्फ आउँदै गरेको बा५ख७३० नम्बरको हायसलाई विपरित दिशातर्फबाट जाँदै गरेको बा७च९७९० नम्बरको कारले ठक्कर दिंदा कारमा सवार एकजना र हायसमा सवार १० जना गरि एघार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि कार चालकको श्रीमति काभ्रेको मंगलदेउपुर नगरपालिका १० को रञ्जु कुमारी घिमिरे, हायसमा सवार रहेका दुहवी नगरपालिका ४ सुनसरीका देवी आचार्य, महालक्ष्मी नगरपालिका वडा नं. ३ ललितपुरका निरज खड्का उनकी श्रीमति निशा पोखरेल र उनीहरुको पाँच वर्षको छोरा त्रिशन खड्का, बेलबारी नगरपालिका ३ मोरङका सिता राई, विराटनगर महानगरपालिका १९ का सारदा श्रेष्ठ, बेलबारी नगरपालिका ६ का प्रतिष्ठा चौधरी, बेलबारी नगरपालिका ४ का प्रीया लिम्बु, उनको २ वर्षको छोरा यन्सुहाङ लिम्बु र कटारी नगरपालिका वडा नं. ८ उदयपुरका सञ्जु थापा मगर घाईते भएका छन ।
घाईतेमध्ये तीन जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको, एक जनाको कटारी अस्पतालमा र अन्यको प्रयाग पोलिक्लिनिक दुधौलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले बताए ।




















