सिन्धुली /सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल प्रतियोगिता बुधबारबाट कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा जारी छ ।
इनारपानी युवा क्लब भिमानको आयोजना तथा कमलामाई नगरपालिका सिन्धुलीको प्रायोजनमा फुटवल प्रतियोगिता भईरहेको छ ।
विहिबार भएको खेलमा व्लु अल्पाईन क्लब विजयी भएको छ । व्लुअल्पाईन क्लब सिन्धुली र चुरे चाँदनी युवा क्लब चुरे धनुषाबीच भएको खेलमा २–० गोल अन्तरले व्लु अल्पाईन विजयी भएको हो ।
जनजागृति मावि भिमानको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेल कार्तिक २५ गतेसम्म चल्ने इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले बताएका छन ।
कमलामाई नगरपालिकाको सहयोगमा आजादको स्मृतिमा भएको यो चौथो फुटबल प्रतियोगिता हो । बुधबार आयोजक इनारपानी युवा क्लब ए र प्रहरी तालिम केन्द्र दुधौलीबीच पहिलो खेल भएको छ । उद्घाटन खेलमा प्रहरी तालिम केन्द्र दुधौलीले इनारपानी युवा क्लब (ए) लाई ३–१ गोलले पराजित गरेको थियो ।
यो जिल्लामा हुने खेलकुद मध्ये धेरै पुरस्कार राशी रहेको खेल हो । आजाद स्मृति फुटवल प्रतियोगिताका विजेताले २ लाख ५१ हजार १११ रुपैंया पुरस्कार, शिल्ड, मेडल प्राप्त गर्नेछन भने उपविजेताले १ लाख २५ हजार १११ रुपैंया शिल्ड मेडल प्राप्त गर्नेछन ।
यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैंया, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई ३ हजार रुपैंया पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ । आजाद स्मृति फुटवल प्रतियोगिता यस अघि २०७६, २०७७ र २०७९ मा सिन्धुलीको भिमानमा सम्पन्न भएको थियो ।





















