सिन्धुली । जिल्लाको दुधौलीमा एकैदिन दुई जना पुरुषको शव भेटिएको छ । शुक्रबार उदयपुर जिल्लासँग जोडिएको दुधौली नगरपालिका भित्रका दुई नदी कमला नदी र तावा खोलामा दुई जनाको शव फेला परेको हो ।
दुधौली नगरपालिका वडा नम्बर ११ तल्लो धनसरीमा कमला नदीमा एक वेवारिसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै दुधौली ८ बताहामा अर्का युवकको शव फेला परेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर ३ राजाबासका २१ बर्षीय मनोज बस्नेतको शव खोलामा डुवेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए । बस्नेतको शव खोलामा घोप्टो परेर डुवेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको दाहालले जानकारी दिएका छन ।




















