सिन्धुली / पुस ८ गतेदेखि सिन्धुलीको सिन्धुलीमाढीमा रहेको खुलामञ्चमा छैंठौं सिन्धुली महोत्सव हुने भएको छ । ११ दिनसम्म चल्ने उक्त महोत्सवबाट हुने नाफाबाट दमकल खरिद गर्ने मुख्य उद्देश्य राखिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको प्रमुख आयोजनमा महोत्स हुन थालेको महोत्सव मूल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
महोत्सव आयोजक मूल समितिका संयोजक एवम् सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार आयोजकले १० करोडको कारोवार हुने जनाएको छ । उक्त कारोबारबाट सिन्धुली महोत्सवमा ९० लाख नाफा हुने आयोजकको अनुमान रहेको छ ।
जिल्लामा ठूलो आगलागी हुँदा दमकल नभएका कारण ठूलो क्षति वेहर्नुपर्ने अवस्था रहेको बताउँदै श्रेष्ठले जिल्लाभरी लान सकिने गरि आधुनिक दमकल खरिद गर्ने मुख्य योजना अनुसार महोत्सवको आयोजना गरिएको बताएका छन । उनले जिल्लाका ९ वटै स्थानीय तहले महोत्सवमा सहयोग गर्ने अपेक्षा राखिएको पनि बताए ।
‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, संमृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौं’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न थालिएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका छन । महोत्सवले जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । साथै मन्द अवस्थामा रहेको अर्थतन्त्रलाई समेत चलाएमान बनाउन महोत्सव महत्वपूर्ण रहने आयोजकको विश्वास छ ।
महोत्सवको ७ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा स्थानीय उत्पादन तथा वाह्य सामग्री प्रदर्शन गरिने छ । महोत्सवमा व्यापार मेलाका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकन समेत गर्न पाईने छ । यस्तै महोत्सवमा बाल उद्यान, सर्कस, पिङ, विभिन्न सांस्कृतिक कार्यक्रम, ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तथा विभिन्न प्रतियोगिताहरु समेत राखिने छ ।
स्टल बुकिङ सुरु
सिन्धुली महोत्सवका लागि स्टल बुकिङ सुरु भईसकेको छ । ३ सय स्टल राखिने महोत्सवमा अधिकांश स्टलहरु बुकिङ भईसकेको श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार यस पटकको महोत्सवमा स्थानीय व्यवसायीले करीब डेढसयको हाराहारीमा स्टल बुकिङ गरेको उनले बताए । स्थानीय व्यवसायीलाई आयोजकले ५ हजार ५ सय रुपैंया स्टल चार्ज छुट गरेको छ ।
प्रायोजक नै टुंगिएन
महोत्सवको तयारी भईरहेको भए पनि महोत्वसको मुख्य प्रायोजक र सहायक प्रायोजक नै अहिलेसम्म टुंगिएको छैन । एक महिनादेखि प्रायोजक, सहप्रायोजक खोज्दा समेत नपाईएको श्रेष्ठले बताए । आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा छाएको मन्दीले प्रायोजक, सहप्रायोजक पाउन नसकिएको उनले बताए ।
अपांग र जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क
सिन्धुली महोत्सवमा सामान्य दर्शकका लागि ६० रुपैंया प्रवेश शुल्क राखिएको छ । विद्यार्थी तथा एकल महिलाका लागि ४० रुपैंया दर कायम गरिएको छ भने जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई भने प्रवेशमा शुल्क लिईने छैन । समाचार संकलन गर्ने पत्रकारका लागि पासको व्यवस्था गरिने छ ।
महोत्सवले जिल्लाको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । व्यापार व्यवसाय चलाएमान हुने आयोजकको भनाई छ । यातायात, होटल व्यवसाय र पर्यटन व्यवसायलाई फाइदा हुने छ भने रेडिमेट र जुत्ताचप्पल व्यवसायीलाई भने महोत्सवले केहि व्यापार घटाउन सक्ने आयोजकको आँकलन छ ।
महोत्सव स्थलमा सुरक्षा, पिउने पानी, विद्युत, शौचालय, सिसी क्यामेरा, एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिने छ भने फ्रि वाईफाईको समेत व्यवस्था गरिने छ ।





















