सिन्धुली । सरकारले देशभरका १६ जना पत्रकार सहित ५९४ जनालाई विभिन्न विभुषणबाट सम्मान गर्ने भएको छ । गृहमन्त्रालयले संविधान दिवसका अवसरमा उक्त सूचि सार्वजनिक गरेको हो । गोरखा पत्रमा प्रकाशित सूचि अनुसार सिन्धुलीका २ जना व्यक्तिले समेत पदक पाउने भएका छन ।

सरकारले पत्रकार भनेर सम्मान गर्ने निर्णय गरेका पत्रकारमा शुभेच्छाविन्दु तुलाधर माउन्टेन टेलिभिजनको डिजिएम हुन । त्यस्तै मधेश मिडिया हाउसका डा. राजेशराज अहिराज, सविन प्रियाशन, टीका बिस्ट, राजेशकुमार अर्याल, धर्मेन्द्र कर्ण, चिरञ्जिीवि मास्के, लिलाराज भट्टराई, हरिनारायण गौतम, गिरू भण्डारी, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराल लगायत रहेका छन ।
यस्तै सिन्धुलीबाट दुई जना सम्मानित हुने सूचिमा परेका छन । नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष एवम नायव सुब्बा पुरुषोत्तम दाहाल जनसेवा श्री पदकका लागि छनौट भएका छन भने एसिड पीडितको न्याय तथा उपचार, स्वास्थ्य उपचार नपाएका नागरिकको उपचार र नाना, छाना र मानाका अभियन्ता समाजसेवी उज्जल विक्रम थापालाई समाजसेवा रत्नका लागि छनौट गरिएको छ ।
थापालाई उत्कृष्ट समाजसेवा गरे बापत उक्त पदक दिईएको हो भने दाहाललाई राष्ट्रसेवकका रुपमा सेवा प्रदान गरेकोमा उक्त पदक दिने निर्णय गरिएको हो ।





















