सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १४ का सुवास श्रेष्ठ १७ वर्ष भए । उनले कक्षा ६ मा पढ्दा पढ्दै कम्मर दुख्ने समस्या भयो । क्रमशः उक्त समस्याले दाहिने खुट्टा नै सुक्यो । विस्तारै हिडडुल गर्न नसक्ने भए । सोहि समस्याका कारण स्थानीय सरकारी विद्यालय चन्दनपुर माविमा पढीरहेका उनले पढाई छोडे । हाल उनी बैशाखीका भरमा सामान्य भित्र बाहिर गर्छन । टाढा जान सक्दैनन । पछिल्लो केहि समयदेखि उनको वायाँ खुट्टामा पनि अप्ठ्यारो हुने, दुख्ने समस्या हुन थालेको छ ।

सुवासको रेखदेख ठूलीआमाको जिम्मामा छ । खेतिपाती गर्ने, बालबालिकालाई पढाउने, पाल्ने जिम्मेवारी पनि उनको काँधमा छ । सुवासको उपचार भारतको पटना र नयाँ दिल्लीमा गरियो तर निको भएन । हाल उनको परिवारले आर्थिक अभावकै कारण उपचार गर्न सकेको छैन । उनको पढाई पनि रोकियो । सुवास भन्छन, ‘सक्यो भने त पढ्थें । पढ्न मन त लाग्छ के गर्नु ?’ रोगकै कारण अपांग भएर बस्दा पढाई रोकिएकोमा उनलाई चिन्ता छ ।
सिन्धुली अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. सुधांश झाका अनुसार यस्तो समस्या बालबालिका अर्थात १५ देखि २० वर्ष उमेरका केहि बालबालिकामा देखिन्छ । उनीहरुलाई देखिने यो समस्या सानो उमेरमा देखिने बाथ रोग हो । यसले हाडजोर्नी समाउँछ र यसको कुनै औषधि पनि हुदैन । उनका अनुसार नशा तथा हाडजोर्नीलाई चलाएमान राख्नु नै यसको निराकरण हो । उनले जनाए अनुसार ‘सुवासको एक्सरसाईज नगर्दा उनको कम्मरको चिप्लो पदार्थ नै जाम भईसकेको छ ।’ ‘यो रोग लाग्दा मान्छे विस्तारै जोर्नीहरुको चिप्लो पदार्थ सुक्दै जान्छ र मान्छे बाँस जस्तो हुन्छ ।’
कमलामाई नगरपालिका वडा नं. १४ तल्लो रानीबासका उद्धव प्रसाद पहाडी उमेरले २८ वर्ष भए । उनको दाहिने खुट्टामा रड देखिन्छ । खुट्टैभरी पिप निस्केको घाउ देखिन्छ । उनको ७ वर्ष अघि भारतको पटनामा सडक पार गर्ने क्रममा ट्याक्सीले हानेर खुट्टा भाँचियो । सोहि घाउको रड ननिकाल्दा उनी अपांग जस्तै भएका छन । सामान्य हिडडुल गरे पनि काम गर्न जान सक्दैनन । न त उनको उपचार गर्ने नै कोहि छ । सुरुमा पटनामै उपचार गरार्ई रड राखिएको भए पनि पैसाको अभावले रड निकाल्न सकेनन । त्यतिबेलाको अस्पतालमा उपचार गरेका कागजपत्र पनि नलिई उद्धव घरमा आए । पटनाको एमसिएच अस्पतालले २ वर्षमा रड निकाल्नुपर्ने भनेको थियो तर उनको रड शरीरमै छ ।
उद्धवका बुवा कृष्ण प्रसाद पहाडीका अनुसार सोहि दुर्घटनापछि छोरामा एकोहोरो हुने, नबोल्ने, लुगा भाँडा फाल्ने, घाउ कोट्याउने चलाउने जस्ता अस्वभाविक समस्या देखिन थालेको छ । भन्छन, ‘कमाउने छोरो दुर्घटनामा घाइते भयो । मजदुरी ग¥यो २, ४ पैसा खानै ठिक्क । थप उपचार गर्न सकिन ।’
त्यसपछि उद्धवलाई हालसम्म जँचाउन अस्पताल लगिएको छैन । सम्पत्तिको नाममा ऐलानी जग्गामा झुप्रो घर छ । त्यो बाहेक विहान बेलुका बनीबुतो गरेरै जीवन धान्ने हो । ‘पैसा नभएपछि कसरी उपचार गर्नु ? छोरो अपांग भयो’ कृष्णप्रसाद भन्छन ।
लापरवाहिले खुट्टा काटियो
कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका दिप बहादुर पुलामी (४८) ले कृतिम खुट्टा हालेको १९ वर्ष भयो । व्लेडले नङ काट्ने बेला बाँया खुट्टाको बुढी औंलाको नङको जरामा ब्लेडले काटेर सानो घाउ भयो । सोहि घाउ केहि दिनमा चिलाउन थाल्यो । बोक्सीको आँखा लागेको भन्दै झारफुक गर्न धामीझाँक्री तिर लागे । खुट्टाको घाउ बढ्दै गएपछि उपचारका लागि विर अस्पताल पुगे ।
एक महिना पछि विर अस्पताल पुगेका पुलामीको टिट्नाश भएको भन्दै डाक्टरले घुँडा मुनी काटेर फालिदिए । अहिले उनी परिवारको सहारामा घरमै बस्छन । भारी काम गर्न सक्दैनन । उनीहरुको जग्गा जमिन छैन । ऐलानीमा घर छ । सम्पत्ति केहि छैन । २ छोरा र २ छोरीको जिम्मेवारी पुलामीकी श्रीमतिको काँधमा छ । चटपटे बेचेर, मजदुरी गरेर छोराछोरी पढाउने, हुर्काउने, लाउने खाने जोहो श्रीमतिले एक्लैले गर्दै आएको पुलामीले बताए । उनका छोराछोरीले नजिकैको सरकारी विद्यालय चन्दनपुर माविमा पढ्दै छन । उनीहरुले कक्षा ९, १०, ११ र १२ कक्षामा पढ्दै गरेको पुलामीले बताए ।
न पहिचान, न श्रीमान
कमलामाई नगरपालिका वडा नं. १४ खिरखिरेकी भुन्टी धामी (४५) ५ वर्षदेखि विरामी छिन । उनीमा हातखुट्टा नचल्ने कम्मर नचल्ने हुँदा हुदै दाहिने पाटो नै चल्न छोड्यो । उनलाई घुँडा र खुट्टा सुन्निने समस्याबाट भएको समस्या अहिले हात खुट्टा सुक्नेसम्म पुगेको छ । जसका कारण उनी थला लाग्दै गईन । सामान्य उपचार त ग¥यो परिवारले । तर उनलाई निको हुनुको साटो ओछ्यानै परिन । उनका श्रीमान डोको धामीले भुन्टी निको हुने छाँटकाँट नपाएपछि अर्की श्रीमति ल्याए । भुन्टीलाई विरामीसँगै सौताको पिरलो समेत थपिएको छ ।
भुन्टीका १ छोरा र १ छोरी छन । छोरी सिर्जनाले त स्कुल नै टेकेकी छैनन । छोरालाई केहि दिन नजिकैको स्कुलमा पठाए पनि पढ्न छोडे । दुवै छोराछोरीको जन्मदर्ता पनि छैन । नत भुन्टीको नागरिकता नै छ ।

उपचार गर्न नसक्दा अपांग
कनपा १४ का कन्ना धामी (७०) स्थानीय समाजसेवी हुन । उनी २ वर्ष अघि खेत जोत्दै गर्दा कम्मरमा समस्या आए पछि विरामी परे । जनकपुर अञ्चल अस्पतालसम्म त पुगे उपचारका लागि तर उनका लागि न त एक महिना अस्पतालमा बस्ने कुरुवा कोहि भए, न उपचारका लागि पैसा । डाक्टरले कम्मरको जोर्नी खुस्केको भन्दै स्टिल हाल्नुपर्ने सुझाएका थिए । उपचार सम्भव नभएपछि उनी थला लाग्दै गएका छन । उनी दिशा पिसाव जान समेत सक्दैनन । दाहिने खुट्टा विस्तारै सुक्दै गएको छ । उनी थला लागेपछि फोक्सोकी विरामी श्रीमतिको पनि मृत्यु भयो । जेठो छोरो पनि म¥यो । बुहारी तारावतीले स्याहार गर्दै आएकी छिन । ख श्रेणीको अति अशक्त अपांगता परिचय पत्र बनाएका छन उनले । परिचय पत्रले के गर्नु दुख कम हुदैन । भन्छन, ‘काल आउँदैन काल पर्खनै प¥यो ।’
कमलामाई नगरपालिकाले माघ २५ गतेदेखि अपांगता भएका व्यक्तिलाई घर दैलोमा परिचय पत्र दिने शिविर सुरु ग¥यो । वडा नं. १२, १३, १, २ मा नगरपालिकाले अपांगताको परिचय पत्र वितरण गरिसकेको छ । कमलामाई नगरपालिकाका भित्र रहेका अपांगहरुको पहिचान गर्ने र कार्ययोजना बनाउने नगरपालिकाको योजना छ । सोहि योजना अनुरुप फागुन ९ गते उपमेयर मञ्जु देवकोटाको नेतृत्वको टोली कमलामाई नगरपालिका वडा नं. १३ र १४ मा पुग्यो । अपांगता भएर शिविरमा नआउने विरामीलाई देवकोटा सहितको टोलीले घरमै पुगेर सेवा पनि दियो ।
सोहि क्रममा परिचय पत्र बनाउन वडा नं. १४ का नागरिक धेरै आए । उक्त दिन २८ जनाले अपांगता परिचय पत्र बनाए । परिचय पत्र पाउनेमा पूर्ण असक्त अपांग अर्थात क श्रेणीका ७ जना र अति अशक्त अर्थात ख श्रेणीका १७ जना रहे । जसमध्ये ७० प्रतिशत कृतिम अपांगता भएका व्यक्तिहरु आए । त्यसमा पनि दुर्घटना वा अन्य कारणले चोटपटक लागेका र अप्रेशन विग्रेका विरामीहरु पाईएको सिन्धुली अस्पतालका डा. सुधांशु झाले बताए । उनका अनुसार शिविरमा लालगढ अस्पतालमा उपचार गराएर शल्यक्रिया विग्रेका र भारतको पटनामा उपचार गराएर उपचार विग्रेपछि अपांग भएका व्यक्तिहरु धेरै पाइए ।
डा. झा भन्छन, ‘अधिकांश मान्छेहरु उपचार गर्न आर्थिक अभाव भएकाले, अन्धविश्वासका कारण धामी झाँक्री गर्नाले र उपचारमा ध्यान नदिनाले अपांग भएका छन ।’ उनी अपांगताको पहिचान गर्नका लागि सिन्धुली जिल्लाका धेरै ठाउँमा पुगेका छन । भन्छन, ‘कमलामाई नगरपालिकाको १४ मा जस्तो जवर्जस्ती अपांगता कतै भेटिएको थिएन, यहाँ त गाउँ नै कृतिम अपांगताको पीडामा रहेछ ।’
कमलामाई नगरपालिकाले स्थानीय तह भएपछि कार्यविधि बनाएर अपांगता परिचय पत्र दिन सुरु गरेको हो । अपांगहरुको पहिचान गर्न र घरदैलोमै सेवा दिन अपांगता समन्वय समिति बनाएर काम गरिरहेको छ । हालसम्म शिविर र नियमित रुपमा कार्यालयबाट २१० जना अपांगलाई परिचय पत्र दिईएको छ ।
उक्त समितिका सदस्य विजय लामा भन्छन, अव अपांगता भएका व्यक्तिलाई उपचारको समस्या हुन नदिन स्वास्थ्य विमाको व्यवस्था गर्नुपर्ने देखिएको छ । जसका कारण अपांगता भएका व्यक्तिले उपचार गर्नबाट बन्चित नहोउन । यस्तै अपांगता भएका परिवारलाई रोजगार, शिक्षाको व्यवस्था पनि सरकारले गर्नुपर्ने उनले बताए । कमलामाई नगरपालिकाका मञ्जु देवकोटाले शिविरपछि समितिले अपांगमैत्री कार्ययोजना बनाएर काम गर्ने बताईन । तर त्यस्तो नयाँ कार्ययोजना भने नगरपालिकाले हालसम्म केहि बनाइसकेको छैन ।





















