सिन्धुली । भ्रमण वर्ष २०२० र सेना दिवसका अवसरमा प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका छन । सिन्धुली व्याडमिन्टन संघको आयोजनामा भएको उक्त प्रतियोगिताको थापाले टेलिभिजन स्कृनलाई रिमोर्टले अन गरेर तथा रेफ्रीलाई कक हस्तान्तरण गरेर उद्घाटन गरेका हुन ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रधानसेनापति थापाले व्याडमिन्टन प्रतियोगिताले राष्ट्रियता रक्षा र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरगढीको विकासमा नागरिक, स्थानीय सरकार र नेपाली सेनाको उल्लेख्य सहकार्य रहेको भन्दै सहकार्यका लागि धन्यावाद समेत दिएका छन । उनले भने ‘नेपाली सेना राष्ट्र र राष्ट्रियताप्रति उत्तरदायी रहेको बताउँदै राष्ट्रिय एकताको भाव कायम राख्न ऐतिहासिक भुमिका खेलेको सिन्धुलीगढीकोे विकास, संरक्षण, गढी पदमार्ग, किनलक पदमार्गको विकासमा हामी प्रतिबद्ध छौं ।’
थापाले ऐतिहासिक मकावनपुरगढीदेखि हरिहरपुरगढी, सिन्धुलीगढी हुँदै उदयपुरगढीसम्मको पदमार्ग निर्माणका लागि नेपाली सेनाले काम थालेको बताए । उनले खेलाडीलाई राष्ट्रियताको इतिहास बोकेको सिन्धुलीमा आएर उत्कृष्ट खेल प्रदर्शन गर्न समेत हौसला प्रदान गरेका छन । उनले राष्ट्रियताको भाव बोकेका सबै नेपालीले सिन्धुलीगढीको इतिहास सम्झनुपर्ने बताए । थापाले खेलले राष्ट्रिय एकताको भावना समेत पैदा गर्ने हुदा महत्वपूर्ण अवसरका रुपमा लिन सबैलाई आग्रह समेत गरेका छन ।

यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले व्याडमिन्टन प्रतियोगिताले पर्यटकीय, ऐतिहासिक स्थलसँगै खेल क्षेत्रमा समेत सिन्धुलीलाई चिनाउन महत्वपूर्ण हुने बताए । उनले सिन्धुलीमा खेल पर्यटनको समेत विकास हुने विश्वास समेत व्यक्त गरेका छन ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी बल (एपिएफ) क्लव, नेपाल प्रहरी क्लव (एनपिसि) वुटवल व्याडमिन्टन क्लव, जेष्ठ व्याडमिन्टन एकेडेमी, बुढा सुव्वा व्याडमिन्टन क्लव, चन्द्रागिरी व्याडमिन्टन क्लव, गण्डकी व्याडमिन्टन क्लव, बर्दिवास व्याडमिन्टन क्लव लगायत १५० टिमले सहभागिता जनाएका छन ।






















