सिन्धुली । दशैको सातौं दिन शनिबार महाकाली मन्दिरमा फुलपाती भित्राईएको छ । महाकाली मन्दिर कमलामाई नगरपालिका ५ मा सिन्धुलीका तिनवटै सुरक्षा निकायका टुकटीले सलामी दिई फूलपाती भित्राएका हुन । प्रदेश नं ३ का सांसद प्रदीप कटुवाल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, नेपाली सेना ९ नं. बाहिनीपति गणेश कुमार श्रेष्ठ, बर्द बहादुर गणका गणपति राजिव थापा, नेपाल प्रहरीका प्रमुख चक्र बहादुर सिंह, शसस्त्र प्रहरीका प्रमुख गोपिकृष्ण भट्राई लगाएतले संयुक्त रुपमा विशेष पूजा गरि फूलपाती भित्राईएको हो ।

नेपाली सेनाले गत वर्षदेखि महाकाली मन्दिरमा बोका बली दिन छोडेको छ । पुष्पबली दिएर फूलपातीको स्वागत गरिएको छ । तीनवटै सुरक्षा निकायका टुकडीले भद्रकाली, रक्तमाला, सिद्धवावा, महाकाली, कमलामाई लगाएतका शक्तिपीठका नाममा महाकाली मन्दिरमा संयुक्त सलामी दिएका थिए । महाकाली मन्दिरमा हरेक वर्ष फूलपाती बढाई हुने गरेको छ ।

गतवर्षसम्म नेपाली सेनाले रक्तमाला मन्दिरमा पनि सलामी सहित फूलपाती बढाइ गर्ने गरेकोमा यस वर्ष भने गरेन । सिन्धुलीको शक्तिपीठका रुपमा महाकाली मन्दिरलाई लिने गरिएकोमा गत वर्षबाट नेपाली सेनाको मुख्य शक्तिपिठको रुपमा मानिने कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको भद्रकाली मन्दिरमा पनि फूलपाती सहित सलामी दिने गरिएको छ । शनिबार नेपाली सेनाले सलामी सहित भद्रकालीमा फूलपाती भित्राएको जनाएको छ ।
यसैगरि रक्तमाला मन्दिरमा विविध सांस्कृतिक कार्यक्रम सहित फूलपाती विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा संघिय सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु राजन दाहाल, प्रदीप कटुवाल, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो भने सिन्धुली कलाघरका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।




















