सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साँझ सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई घुस सहित पक्राउ गरेको छ । ट्राफिक जाँचका क्रममा काठमान्डौबाट पूर्वतर्फ गईरहेका सवारी साधानबाट घुस लिँदै गर्दा उनलाई टोलीले पक्राउ गरेको हो ।
विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले पूर्वतिर जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको पाईएपछि उक्त रकम सहित माझीलाई अख्तियारले पक्राउ गरेको हो ।
माझीलाई घुस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले पुष्टि गरेका छन । सिंहले कति रकम सहित पक्राउ गरेको भन्ने बारेमा आफुलाई जानकारी भने नभएको बताए । माझी पक्राउ बारेमा अख्तियारले भने आधिकारिक जानकारी दिएको छैन ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि घटनाको पुष्टि गरेका छन । उनले अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले घुस लिँदै गरेका माझीलाई १० हजार रकम सहित शनिबार साँझ ६ बजे पक्राउ गरेको जानकारी दिए ।





















