सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटमा ३२ वर्षिय शुशिला घिसिङ बम्जनको घरभित्रै आगोले जलेर मृत्यु भएको छ । पेट्रोल छर्केर शरीरमा आगो लगाएर उनको मृत्यु भएको हो । आईतबार बेलुकी करीब साढे चारबजेतिर उनको आफ्नै घरमा आगोले जलेर बम्जनको मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ । शुशिलाको घरको कोठाभित्रै मृत्यु भएको छ ।

आगोको लप्काले भेट्दा खाटमा बसेका ससुरा दुर्गामान बम्जन समेत जलेर घाईते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्गामानको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । उनी प्यारालाईसिसका बिरामी भएको र भाग्न नसक्दा शरीरको केहि भाग जलेको स्थानीयले जनाएका छन् ।
शुशिलाले चिच्चाएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरु घरमा आउँदा गेटमा ताल्चा लगाएको र कोठामा आगो लगाईएको, नन्द मिना घरको गल्लीमा उभिईरहेको र आगो बलिरहेको थियो ।
शुशिलालाई नन्द र सासुले आगो लगाएर हत्या गरेको माईती पक्षको आरोप छ । स्थानीयले सासु मायाँरानीसँग साँचो मागी गेटको ताल्चा खोल्दा उनको मृत्यु भईसकेको पाईएको थियो । माँयारानीले छिमेकीलाई घरको माथिल्लो तलाबाट साँचो झारिदिएकी थिईन । गेटमा ताल्चा लगाएर आगो लगाएर शुशिलाको हत्या गरिएको र छिमेकीले आगो निभाएको पीडितकी आफन्त सरिता स्याङतानले बताएकी छिन् ।

उनलाई ६, ७ वर्षदेखि नै नन्द मिना बम्जन, सासु मायारानी बम्जन र ससुरा दुर्गा बम्जनले निरन्तर मानसिक यातना दिँदै आएको मृतकका माईती पक्षले जनाएका छन् ।
करिब दुई महिनादेखि नन्द मिनाले शुशिलालाई मार्ने धम्कि दिदैं आएको खुलेको छ । मृतक शुशिलाले आफ्ना बहिनी सन्धी तथा भाउजु निर्मलालाई उक्त कुरा जानकारी गराउँदै आएकी थिईन् ।
घटनाको एक घण्टा अगाडि बहिनी सन्धीलाई आफुलाई मार्ने योजना रहेको र नन्दले बिहानैदेखि आजै मार्ने भनेर धम्कि दिईरहेको भनेर जानकारी गराएको सन्धीले आफुलाई बताएको सरिताले जानकारी दिईन् । बहिनीलाई जानकारी गराएको एक घण्टामा नै उनको हत्या भएको माईती परिवारको आरोप छ । आगोले मृतकको पुरै शरीर जलेको छ ।
पछिल्लो दुई महिनादेखि नन्दले शुशिलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्कि दिएको शुशिलाले आफन्त र माईतीलाई सुनाउँदै आएको स्याङतानले बताईन ।
छिमेकी पदम बहादुर अस्थानीले आफुले घटनास्थलमा आएर आगो निभाएको बताएका छन् । उनले आगो निभाएपछि मात्र शुशिलाको शव लडेको अवस्थामा देखेको बताएका छन् ।
घटना भएपछि घटना स्थलमा आएका मृतकका काका सुकबहादुर घिसिङ, भाउजु निर्मला स्याङतानले उनको हत्या नै भएको दावी गरेका छन् । पटक पटक शुशिलालाई यातना दिने गरेको र माईती पक्षले नै उनलाई सम्झाई बुझाई पटक पटक घरमा पठाउने गरेको उनीहरुले बताए ।
स्कुलबाट छोराछोरी आएर खाजा खाएपछि बच्चाहरु ट्युसन पु¥याएर आएपछि घटना भएको पाईएको छ । घरको भान्साभरी सेलरोटी छरिएको अवस्थामा भेटिएको छ । सेल पकाउने भाँडामा तेल बाँकी रहेको भेटिएको छ । उनलाई भान्सा समेत रहेको नन्दको सुत्ने कोठामा पेट्रोल छर्केर आगो लगाएको छ । आगो लाग्दा कोठाका बेड लगाएतका सामानहरु जलेका छन् । प्रहरीले घटनास्थलबाट पेट्रोल सहितको बोत्तल, डस्विनमा फालेको लाईटर लगाएतका सामान समेत बरामद गरेको छ ।
शुशिलाका ७ वर्षका तिम्ल्याहा छोराछोरी छन् । दुई छोरा, एक छोरीकी आमा शुशिला लामो समयदेखि घरेलु हिंसाबाट पीडित रहेको उनका माईती परिवारले बताएका छन् । शुशिलाका श्रीमान सूर्य बम्जन दुई वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुबेदी सहितको १५ जनाको टोली पुगेको थियो । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य सुवेदीले बताएका छन् । तथापी प्रहरीले हत्या हो वा होइन भन्ने विषयमा केहि खुलाएको छैन ।




















