सिन्धुली । सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति सिन्धुलीको आयोजनामा मंगलबार सिन्धुलीमाढीमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलको प्रस्ताव, निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको समर्थन तथा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको रोहवरमा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले जिल्लालाई पूर्ण खोप सुनिश्चििता घोषणा गरेका हुन ।
जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप घोषणा गरिसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । सो अवसरमा मन्त्री थापाले बागमती प्रदेशको तर्फबाट पूर्णखोप सुनिश्चितता जिल्ला भएको प्रमाणपत्र प्रदान गरेका छन ।
जिल्लाका १४ हजार १ सय ६८ बालबालिकालाई पूर्ण खोप लगाएको र १८५ जना बालबालिकालाई सर्वेक्षणमा भेटेर खोप पुरा गरि जिल्लालाई पूर्ण खोप घोषणा गरिएको हो । जिल्लामा पहिलो पटक फिक्कल गाउँपालिकालाई २०८२ बैशाख २६ गते पहिलो पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापाले गरेका थिए । कार्यक्रममा जिल्लाका नौ वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियानमा सहयोग गर्ने सरकारी निकायहरु, संघसंस्थाहरु र उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले हरेक नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य सहित स्वास्थ्यको बजेट निर्माण गरिएको बताए । उनले एक जिल्ला एक हेल्दी सिटी, सबै प्रदेश अस्पतालमा आँखाको विशेषज्ञ सेवा, एक पालिका एक नमुना स्वास्थ्य चौकी, प्रत्येक पालिकामा स्वास्थ्य शिविर, प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा, बागमती प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य विमामा प्रिमियम सेवा दिने लगाएतका कार्यक्रम ल्याईएको बताए । थापाले स्वास्थ्यलाई प्रभावकारी बनाउनका लागि सबै नीतिमा स्वास्थ्य नीति लिईएको समेत बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकर बराल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।





















