सिन्धुली । लागु औषध खैरो हिरोईन बेच्दै गर्दा सिन्धुलीमाढीबाट श्रीमान श्रीमति पक्राउ परेका छन । तीनपाटन गाउँपालिका वडा नं. ९ का विनोद परियार र उनकी श्रीमति अञ्जु श्रेष्ठलाई विहिबार राती प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार लागु औषध खैरो हिरोईन विक्री वितरण गरिरहेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको साथबाट ३ दशमलब ७३० ग्राम हिरोईन बरामद गरिएको सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी टोलीलाई देखेपछि उनीहरुले खैरो हिरोईनको प्लाष्टिकको पोका नजिकैको झाडीमा फालेर भाग्न खोजेका थिए । उनीहरु ढुंग्रेवासमा नै डेरा गरि बस्दै आएको प्रहरीले जनाएको छ । दुवै जनालाई सिन्धुली जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान थालिएको सुवेदीले बताए ।




















