सिन्धुली । विपी राजमार्गमा अझै तीस दिन रातीमा यात्रुबाहक गाडी नचल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार सूचना प्रकाशित गरि मनसुन सक्रिय अवस्थामा रहेको र सडकको अवस्थालाई मध्यनजर गरि थप ३० दिन रातीको समयमा सवारी नचल्ने जनाएको हो ।
यस अघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षाको वैठकले असार ३ गतेदेखि असार २० गतेसम्मका लागि यात्रुबाहक सवारी साधन रातीमा चल्न निशेध गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटुवालले सूचना प्रकाशित गर्दै वर्षातका कारण विपदको अवस्था सृजना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउनका लागि विपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमान्डौतर्फ जाने सार्वजनिक, नीजि यात्रुबाहक सवारी साधनलाई प्रस्थान गर्न रोक लगाएका हुन ।
यात्रु बाहक सवारी साधनलाई साँझ साढे ६ बजेदेखि विहान ५ बजेसम्म चल्न रोक लगाईएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत पत्राचार गरेको छ ।





















