सिन्धुली । जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसारमा एकासी जना पक्राउ परेका छन । चालु आर्थिक वर्षमा जिल्लामा ४० मुद्दा दर्ता भएका छन । ती चालिस मुद्दाका ८१ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको हो ।
प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गर्दै जिल्लामा लागु औषध कारोवार, ओसार पसार र प्रयोग बढेको जनाएको छ । लागु औषधको ओसारपसारमा संलग्न रहेकाहरु युवा उमेरका रहेका छन । १८ वर्षदेखि २५ वर्ष उमेरका व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै उनले यो अवधिमा २ सय ९२ किलो गाँजा बरामद गरेको बताए । उनका अनुसार प्रहरीले ३३ हजार १२९ वटा ट्यावलेट, २३३ ग्राम ६३३ मिलिग्राम खैरो हेरोईन बरामद गरेको छ भने ९४ वटा बोत्तल झोल पदार्थ बरामद गरेको छ ।
प्रहरीले सिन्धुलीमा हुँदै आएको गाँजा खेति नष्ट गरेको तथ्यांक समेत जानकारी गराएको छ । जिल्लामा १३ विघा जमिनमा लगाईएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक रहेको छ ।
प्रहरीले लागु औषध नियन्त्रणका लागि दुई खाले रणनीति अपनाएको जनाएको छ । एसपी सुबेदीका अनुसार प्रहरीले पहिलो रणनीति पक्राउ गर्ने, कारवाहि गर्ने, बरामद गर्ने र ओसारपसारमा कडाई गर्ने काम गरेको छ भने दोस्रो सचेतना जगाउने काम समेत गरिरहेको छ । स्कुल, समुदाय, टोल विकास संस्थाहरु, सामाजिक संस्थाहरुको माध्यमबाट लागु औषध नियन्त्रणमा सचेतना अभिवृद्धि गर्ने प्रयास भईरहेको एसपी सुवेदीले बताए ।





















