सिन्धुली । नेकपा एमाले सिन्धुली सम्बद्ध जनसंगठनहरुले पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।
शनिबार सिन्धुलीमाढी स्थित पार्टी कार्यालयबाट कालो खाली व्यानर सहित जनसंगठनका उपलब्ध व्यक्तिहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ओली र लेखकलाई गैह्र कानुनी रुपमा पक्राउ गरेको भन्दै रिहाईको माग गरेका छन् । सरकारले राजनीतिक प्रतिसोध साँधेर पक्राउ गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले विरोध प्रदर्शनका क्रममा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुदन गुरुङको राजिनामा समेत मागेका छन् ।
एमाले जनसंगठनहरुको विरोध ¥याली सिन्धुलीमाढी बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगि समापन भएको थियो । आन्दोलनकै क्रममा एमाले कार्यकर्ताले लोकतान्त्रिक चोकमा टायर समेत बालेका थिए । आन्दोलनकारीले बालेको टायर प्रहरीले खोसेर निभाएका छन् । बालेको टायर खोस्ने बेलामा आन्दोलनकारी र प्रहरीबीच सामान्य ठेलमठेल भएको थियो ।
आन्दोलनकारीले जेनजी आन्दोलनको नाममा गौरी बहादुर कार्की आयोगले पूर्वाग्रही प्रतिवेदन बनाएको र सो प्रतिवेदन सार्वजनिक समेत नगरि विना अनुसन्धान तत्कालिन प्रधानमन्त्री ओली र लेखकलाई पक्राउ गरेको भन्दै उक्त आयोगको प्रतिवेदन खारेजीको माग गरेका छन् । नवनिर्वाचित सरकारले शुक्रबार सपथ ग्रहण गरे लगत्तै मन्त्री परिषदको पहिलो बैठक बसी कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उक्त प्रतिवेदनमा दोषी सिफारिस गरिएका सुरक्षाकर्मी र कर्मचारीको हकमा भने थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । यता तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने निर्णय भएपछि एमाले र एमालेका जनसंगठनले कार्यान्वयनमा पनि पूर्वाग्रह भएको आरोप लगाएका छन् ।
जेनजी आन्दोलनको छानविन प्रतिवेदन पूर्वाग्रहपूर्ण र अपुरो रहेको समेत एमालेले जनाएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार गैह्र कानुनी गिरफ्तारीका विरुद्ध तय भएका विरोधका कार्यक्रमहरु भोलीदेखि सशक्क्त बनाईने बताएका छन् । एमालेका केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।
जस अनुसार शनिबार जनसंगठनहरुको आयोजनामा विरोधका कार्यक्रम गर्ने र आईतबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझाउने कार्यक्रम तय भएका छन् । जेनजी आन्दोलनको छानविन गर्न बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा तत्कालिन प्रधानमन्त्री ओली र लेखकलाई शनिवार विहान उनीहरुकै निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।






















