सिन्धुली । पार्टीका आधिकारीक उमेदवारलाई असहयोग गरि बागी उमेदवार खडा गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीका संयोजक र जिल्ला इन्चार्जलाई पार्टीको जिम्मेवारीबाट हटाईएको छ । सोमबार नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कार्यालयले नेकपाका जिल्ला संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज बुद्धिमान माझीलाई जिम्मेवारीबाट हटाएको हो ।
जिल्ला संयोजक बम्जन र जिल्ला इन्चार्ज माझीलाई कारवाहि स्वरुप जिम्मेवारीबाट हटाईएको हो । उनीहरुलाई प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं. २ का आधिकारीक उमेदवार लेखनाथ दाहाल (राजन) का विरुद्ध बागी उमेदवार खडा गरि पार्टीको हित विरुद्ध निरन्तर गतिविधि गर्दै आएको आरोप लगाईएको छ ।
पटक पटक पार्टीले औपचारिक अनौपचारिक गरेको अनुरोध र निर्देशनलाई समेत अस्वीकार गरेको कारण जिल्ला संयोजक र जिल्ला इन्चार्जको जिम्मेवारी तथा नेकपा सिन्धुली जिल्ला कार्यदल सदस्य लगाएत सबै जिम्मेवारीबाट हटाईएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला कार्यदल कार्यालय निर्वाचन परिचालन समिति सिन्धुलीलाई जानकारी दिईएको छ ।
उक्त कारवाहि पत्रमा हितमान शाक्य, सरल सहयात्री, भिम दाहाल र डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेका छन् । पार्टीले सिफारिस गरेका उमेदवारलाई टिकट नदिएको र निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस नभएका व्यक्तिलाई टिकट दिएपछि नेकपा सिन्धुलीमा विवाद भएको थियो ।
विवादसँगै नेकपाका केन्द्रीय नेता हरिबोल गजुरेलको प्रस्ताव र जिल्ला संयोजक बम्जनको समर्थनमा महेश्वर दाहाल बागी उमेदवार बनेका थिए । महेश्वरको चुनावी अभियानमा निरन्तर सक्रिय पार्टीको नेतृत्वलाई नेकपाले कारवाहि प्रक्रिया अगाडि बढाएको हो ।
यता नेपाली कम्युनिष्ट पार्टी निकट प्रेस संगठन प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली र सचिव मनोज दाहालले पनि आईतबार संगठनको जिम्मेवारीबाट राजिनामा दिएका छन् ।





















