सिन्धुली । सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघन सम्बन्धि तीन वटा उजुरी परेका छन् । जिल्ला निर्वाचन अनुगमन समितिमा तीनवटा उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत रविन कोइरालाले बताएका छन् । उनका अनुसार अनुगमन समितिमा आएका उजुरीमा पदीय दुरुपयोग गरि लोभ लालच र त्रासमा मतदातालाई पारेको उजुरी परेका छन् ।
उजुरीमा सार्वजनिक पदीय दुरुपयोग गरेको उल्लेख गरिएका छन् । उजुरी छानविनमा रहेकाले सबै विवरण खुलाउन नसकिने उनले बताएका छन् ।
आचारसंहिता उलंघनका घटनाहरु बढेको गुनासाहरु आएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुली, निर्वाचन अधिकृतको कार्यालय सिन्धुली, आचारसंहिता अनुगमन समिति, जिल्ला प्रशासन कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा सर्वपक्षिय छलफल समेत गरिएको छ ।
राजनीतिक दल, उमेदवार, पत्रकार, सुरक्षा निकाय, जनप्रतिनिधिहरु सहितको छलफलमा आचारसंहिता उलंघनका विषयमा समेत जानकारी गराईएको छ । साथै राजनीतिक दल र उमेदवारहरुलाई आचारसंहिता पालना सम्बन्धि ध्यानाकर्षण गराईएको छ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले छलफलको आयोजना गरिएको थियो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले सबै दललाई शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी भई प्रक्रिया सफल बनाउन आग्रह गरेको छ ।
छलफलका क्रममा केहि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार प्रसार भएको गुनासो समेत राखेका थिए । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना प्रवाह, आचारसंहिता पालना र सुरक्षा व्यवस्थाका सवालमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउन आग्रह गरेकी छिन् । सुरक्षा निकायले जिल्लाभर सुरक्षा व्यवस्था चुस्त राखिएको दाबी गर्दै शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ ।





















