सिन्धुली । जिल्लाका दुई निर्वाचन क्षेत्रका आधा जसो उमेदवारले बैंक खाता खोलेका छैनन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित हुने उमेदवारहरुले बैंक खाता खोल्नुपर्ने र खोलिएको खाताबाट उमेदवारले तोकिएको मापदण्डभित्र रहि चुनावको खर्च र कारोवार गर्नुपर्ने अनिवार्य गरेको भए पनि सिन्धुलीका आधा जसो उमेदवारले खाता नखोलेको पाईएको हो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीबाट सिफारिस लिएर सरकारले तोकेका बैंकमा खाता खोल्नुपर्ने भए पनि यहाँका अधिकांश उमेदवारले खाता खोलेका छैनन् । कार्यालयका अनुसार हालसम्म १४ जना उमेदवारले मात्र बैंक खाता खोल्न सिफारिस लगेका छन् । सिफारिस लगेका उमेदवार कतिले खाता खोले वा खोलेनन् भन्ने विषय निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतकको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय वा अनुगमन अधिकारी समक्ष जानकारी दिएका छ्रैनन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी अस्मिता लुंगेलीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का ३ जना र क्षेत्र नं. २ का ११ जना उमेदवारले खाता खोल्न सिफारिस लगेका छन् । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उमेदवार उज्वल बराल, राप्रपाका राम नारायण अधिकारी र मंगोल नेशनल पार्टीका सोम बहादुर घलानले खाता खोल्न सिफारिस लिएका छन् । यो क्षेत्रमा १२ जना उमेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका मनोजजंग थापा, नेपाली कांग्रेसका शुशिला थिङ, राप्रपाका मुकुन्द प्रसाद गजुरेल, प्रगतिशिल लोकतान्त्रिक पार्टीका निर्मल कुमार स्याङतान, रास्वपताका आशिष गजुरेल, नेकपा (माओवादी) का वत्र्य बहादुर राई, श्रम संस्कृति पार्टीका इन्द्र बहादुर वि.क, मंगोल नेशनल अर्गनाईजेशनका शान्तविर लामा, मितेरी पार्टी नेपालका राजन अछामी, स्वतन्त्र उमेदवारहरु महेश्वर दाहाल र नरहरी पौडेलले सिफारिस लिएका छन् । यो निर्वाचन क्षेत्रमा १६ जना उमेदवार रहेका छन् ।
निर्वाचन आयोगमा खाता खोलिएको विवरण नआएपछि निर्वाचन आयोगले जिल्लाका सम्बन्धित बैंकलाई पत्राचार समेत गरेको छ । यस्तै खाता खोल्न सिफारिस नलिएका र खाता नखोलेका उमेदवारहरुलाई सचेत बनाउने काम समेत गरिरहेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रविन कोईरालाले बताएका छन् । कोइरालाका अनुसार केहि उमेदवारले पुरानै खाता चलाउन मिल्ने की नमिल्ने भनि प्रश्न समेत गरेको बताएका छन् । जसको निराकरण नभईसकेको उनले जानकारी दिएका छन् ।




















