सिन्धुली । फागुन २१ गते हुने संविधानसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन नेपाली सेनाले संवेदनशिल र दुर्गम क्षेत्रलाई लक्षित गरि मोटरसाईकल गस्ती सुरु गरेको छ । सोमबारदेखि सेनाको मोटरसाईकल गस्ती सुरु भएको भवानी वक्स गणले जनाएको छ ।
सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आकस्मिक अवस्थाको तत्काल प्रतिकार्य गर्न तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले गस्ती सुरु गरिएको गणका मेजर सुनिल थापाले बताएका छन् ।
भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिँदै सेनाको गस्ती सुरु गरिएको थापाले बताएका छन् । मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडक खण्डहरूमा नियमित उपस्थित भई सुरक्षा निगरानी सुदृढ बनाउने उनले जानकारी दिए ।
यस अघि सेनाले माघ २१ गतेदेखि जिल्लाका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा सेना परिचालन गरिसकेको छ । सुरक्षा निकायबीच समन्वय कायम गर्दै गस्ती टोली सञ्चालन गरिएको उनले बताए ।




















