सिन्धुली । तामाकोशी बस दुर्घटनामा परि वेपत्ता रहेका एक बालकको शव सोमबार विहान सुनकोशी नदीको किनारमा फेला परेको छ । उनको शव गोलञ्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट तल्लो बजार नजिकै सुनकोशी नदीको किनारमा भेटिएको हो ।
मृतक माघ २७ गते रामेछापको मन्थली नगरपालिका ६ बेनिघाट पुल नजिकै पुष्पलाल राजमार्गमा भएको बस दुर्घटनामा परि वेपत्ता भएका मन्थली नगरपालिका वडा नं. २ पिप्लेका ९ वर्षका कृचन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाण्डौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्र३–०१–००५ख९९७५ नम्बरको बस तामाकोशी नदिमा खसी दुर्घटना हुँदा उनी वेपत्ता भएका थिए ।
उनको शव ठूलो बुबा युवराज तामाङले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् । उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए ।





















