सिन्धुली । मंगलबारदेखि शितलहरसँगै अत्यधिक चिसो बढेपछि कमलामाई नगरपालिकाका विद्यालयहरु पनि बन्द गरिने भएको छ । कमलामाई नगरपालिका सिन्धुलीले बुधबार सूचना जारी गरि २ दिन विद्यालय बन्द गर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन गरेको हो ।
कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेलले सूचना जारी गर्दै विहिबार र शुक्रबार नगरपालिकाका सबै संस्थागत तथा सामुदायिक विद्यालयमा विदा दिन अनुरोध गरेका छन् ।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पुग्न सक्ने भन्दै नगरपालिकाले विदा दिन सूचना जारी गरेको छ । मौसम प्रतिकुल हुनासाथ पूर्ववत विद्यालय खोल्न समेत नगरपालिकाले जारी सूचनामा उल्लेख गरिएको छ ।
यसैगरि दुधौली नगरपालिकामा बुधबारदेखि नै सबै विद्यालयका पठनपाठन बन्द गरिएको छ । दुधौली नगरपालिकाले मंगलबार राती नै सूचना जारी गरि विद्यालय विदा दिन निर्देशन गरेको थियो ।
सूचनामा पुस १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द रहने नगरपालिकाले जनाएको थियो । शैक्षिक शत्र २०८२ को वर्षे बिदाबाट बिदा मिलान हुने गरि नगरपालिकाका विद्यालयहरुमा विदा दिईएको जारी सूचनामा उल्लेख गरिएको छ ।





















